दमक/ गएरातीको भारी बर्षाका कारण झापाको कमल ५ स्थित चाँजु खोलामा आएको बाढीले सुँगुरका दुई वटा खोर बगाएको छ भने करिब आधा दर्जन घर कटानको उच्च जोखिममा परेका छन ।
स्थानीय सुँगुरपालक दुई जना किसानहरु घनश्याम धिमाल र धनमाया तामाङले सुँगुरपालनका लागि बनाएका दुई वटा खोर बगाएको कमल ५ का वडाध्यक्ष लालबहादुर विष्टले जानकारी दिए ।

रातीदेखिको पानीले यहाँको अवस्था निक्कै जटिल बनाएको छ , ६/ ७ घरको नजिकै खोलाको कटानले विस्थापित हुने खतरा बढेको छ – वडाध्यक्ष विष्टले भने । आज बिहान करिब ५ बजे खोलामा आएको बाढीसंगैको कटानका कारण कमल गाउँपालिकाका विभिन्न बस्तीहरु डुबान र कटानको जोखिममा परेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।

बिहानैदेखि बाढी प्रभावित क्षेत्रमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष प्रमिला न्यौपाने, सहित वडाका जनप्रतिनिधिहरुको टोली पुगेको छ । प्राविधिकहरुसहितको टोलीले तत्काल खोलाको कटान नियन्त्रण र परि आउन सक्ने विपद व्यवस्थापनको पूर्व तयारीका बिषयमा आवश्यक परामर्श गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।

Facebook Comments Box