दमक/ बर्षासंगै खोला नदीका बस्तीहरुमा जोखिम बढेपछि नागरिकहरुको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकार पर्न आउन सक्ने विपद व्यवस्थापनमा जुटेका छन ।
झापामा नै खोलानदीको कटान र डुबानको उच्च जोखिममा रहेका कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाले खोला नदीमा बाढी आउन थालेपछि परि आउन सक्ने विपदको व्यवस्थापन अन्तर्गत कटान जोखिम न्यूनिकरणका लागि तटबन्धन , राहत तथा उद्धारको पूर्व तयारीमा जुटेका हुन ।

कमल गाउँपालिकाको वडा नं १ र २ मा कमल खोला, वडा नं ५, ६ र ७ मा चाँजु र रतुवा खोलाको जोखिम बढी रहेकाले ति क्षेत्रलाई लक्षित गरि कार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए । उनले कतिपय स्थानमा तटबन्धनको योजना ठेक्का लिएर पनि अलपत्र अवस्थामा छोडेको पाइएकाले सम्बन्धित निकाय मार्फत योजनालाई अघि बढाउन निर्देशन गरिएको जनाएका छन ।

बाढीको जोखिम न्युनिकरण गर्न कमल गाउँ पालिकाका केही स्थानहरुमा बाँसको पाइलिङ ( अस्थाई तटबन्धन) निर्माण कार्य जारी राखिएको पनि अध्यक्ष राईले बताए । उनले भने–प्राकृतिक प्रकोप हो, यसलाई तत्काल पुरै रोक्न छेक्न नसकिए पनि जोखिम न्यूनिकरण गर्ने हाम्रो प्रयास जारी छ । अध्यक्ष राईका अनुसार बाढीका कारण मानव वस्तीहरुमा अकस्मात आउन सक्ने संकटलाई व्यवस्थापन गर्न राहत तथा उद्धारको सम्पूर्ण तयारी पूरा भएको छ ।
उनले भने– रेडक्रसदेखि , स्वास्थ्य संस्थाहरु, सामाजिक संघ संस्थाहरु , सुरक्षा निकाय लगायत सबैपक्षसंग समन्वय गरेर हामीले पूर्व तयारी बलियो गरेका छौं । बाढी आएर बस्तीमा पसि हालेको खण्डमा बस्ती स्थानान्तरण सम्मको पूर्व तयारीमा लागेका छौं , कामना गरौं त्यस्तो अवस्था नआओस ।

गौरीगञ्ज गाउँपालिकाले पनि सम्भावित जोखिम क्षेत्रमा कटान तथा डुबानबाट जोगाउने प्रयाससंगै राहत तथा उद्धारको पूर्व अभ्यास समेत भइसकेको जनाएको छ । सो गाउँपालिकाको वडा नं १ मा केही दिन अघि नेपाली सेनाको टोलीले बाढीमा उद्धारको पूर्व अभ्यास गर्नुका साथै स्वास्थ्य परिक्षण शिविर गरेको वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए ।
गौरीगञ्जमा कन्काई, कमल बनियानी , किस्नी र गौरीया खोला आसपासको क्षेत्र जोखिममा रहेको छ । गाउँपालिका अध्यक्ष फुलवती राजवंशीले कटान जोखिम न्युनिकरणका लागि अस्थाई तटबन्धननै तत्कालिन समाधान भएकाले त्यसैलाई प्राथमिकता दिइएको बताइन । उनका अनुसार सिँचाई डिभिजन कार्यालय गैडेबाट १० हजार प्लाष्टिकका बोरा अस्थाई तटबन्धनका लागि ल्याइएको छ । आवश्यकता अनुसारका क्षेत्रमा ति बोराको प्रयोग गरि अस्थाई तटबन्धन गरिने उनले जनाएकी छिन ।
