दमक/ झापाको शिवसताक्षी ४ मा नेपाली कांग्रेसको वडा समिति तथा वडास्थित पार्टीका नेता, कार्यकर्ताहरुले वडा तहबाट चयन भएका उम्मेदवारको सेटनै परिवर्तन हुँदा गत स्थानीय चुनावमा हार ब्यहोर्नुपरेको निष्कर्ष निकालेका छन ।
वडा सभापति देवनारायण ताजपुरियाको सभापतित्वमा हालै पार्टीका स्थानीय नेताहरुको उपस्थितीमा बसेको वडा समितिको बैठकले निर्वाचनको समिक्षा गर्दै त्यस्तो निष्कर्ष निकालेको हो । पार्टीको बैठकले स्थानीय तह निर्वाचनमा उम्मेदवार चयनको प्रकृया स्थानीयस्तरबाट पार्टी विधान अनुसार पुरा भई चुनावी कार्यक्रमहरुमा व्यस्त रहेकै बखत सर्वसम्मतिबाट चयन भएका उम्मेदवारहरु सबै परिवर्तन गरि पार्टीको माथिल्लो तहले हस्तक्षेप गरेर नयाँ उम्मेदवार तय गर्दा परिणाममा गम्भिर असर परेको निचोड निकालेको हो । वडाका सबै आकांक्षीहरुको लिखित सहमतिमा प्रादेशिक क्षेत्रीय समिति सदस्य महेश्वर दुलाललाई वडाध्यक्षको उम्मेदवार बनाउँदै सदस्यहरुमा नगर उपसभापति भुपाल राजवंशी, क्षेत्रीय प्रतिनिधि गोपालमान तामाङ, पार्टी वडा सचिव पवित्रा ताजपुरिया र दलित महिला सदस्यमा निवर्तमान वडा सदस्य सरिता लकान्द्री विश्वकर्माको नाम माथिल्लो तहमा सिफारिस गरिएको भएपनि वडाध्यक्षमा राकेश ताजपुरियासहितका स्थानीय नेता कार्यकर्तालाई उम्मेदवार बनाइएका कारण विपक्षी मुख्य प्रतिस्पर्धीसंगको प्रतिस्पर्धामा चुनावी परिणाम कमजोर आउन पुगेको बैठकले ठहर गरेको उल्लेख छ ।
बैठकले चुनावी परिणामको बिषयमा कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सञ्चार माध्यमहरुले वास्तविकता नबुझि पार्टीमा लामो समय योगदान गर्दै आएका निर्वाचनमा अहोरात्र खटिएका नेता कार्यकर्ताहरुको आत्मसम्मानमा चोट पुग्ने गरि सामग्रीहरु सम्प्रेषित भएकोमा त्यसप्रति गम्भिर आपत्ति समेत प्रकट गरेको निर्णयमा उल्लेख छ । त्यसैगरी बैठकले आगामी प्रदेश तथा संघीय क्षेत्रको निर्वाचनलाई परिणाममुखी बनाउन सबै नेता कार्यकर्ताहरु लागिपर्न आव्हान गर्दै सबैले एकताबद्ध भएर निर्वाचनको तयारीमा लाग्ने प्रतिबद्धता समेत जनाएको छ ।

 


 

Facebook Comments Box