दमक/झापाको गौरीगञ्ज गाउँपालिकाका वडा तहमा प्राप्त हुने बजेट सिलिङ गत बर्षको तुलनामा झण्डै ५० देखि ५५ प्रतिशत सम्म घटेको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि वडा कार्यालयहरुलाई गत बर्षको तुलनामा निक्कै कम बजेट सिलिङ दिएको हो । पालिकाले तोकेको सिलिङ बजेट भित्रि रहेर वडा कार्यालयहरुले आगामी आर्थिक बर्ष वडामा सञ्चालन गर्ने पूर्वाधार बिकास , सामाजिक बिकास, लक्षित वर्गका कार्यक्रमहरु आदी तय गर्ने गरिन्छ ।
वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले आफनो वडा प्राकृतिक प्रकोपले ग्रस्त वडा भएको र आर्थिक विपन्नता भएका वडाबासीहरुको संख्या ठुलो भएका कारण बजेट कटौतीले बार्षिक योजना तथा कार्यक्रमहरु तय गर्न सकस परिरहेको बताए । उनले पालिकामा बजेटको आकार घटदा त्यसको प्रभाव वडा तहमा पनि पर्न गएको भन्दै माथिल्लो तहका निकायहरुको ध्यान यो वडामा जानु पर्ने आवश्यकता औंल्याएका छन । आर्थिक अनुशासनलाई कायम राखेर न्यूनतम बजेटमा भएपनि अधिकतम वडाबासीका लागि लाभदायक योजनाहरु ल्याउने बिषयमा वडाका जनप्रतिनिधिहरुबीच छलफल भइरहेको उनले बताए ।
गाउँपालिका स्रोतका अनुसार पालिकाका कूल ६ वडा मध्ये १ नम्बर वडाका लागि ४५ लाख रुपैयाँ तोकिएको छ भने अन्य २ देखि ६ नम्बर सम्मका सबै वडाका लागि ४० लाख रुपैयाँको बजेट सिलिङ तोकिएको छ । सो ब्यहोराको पत्र पालिकाले वडालाई पठाएको छ ।