दमक/ दमक नगरपालिकाका मेयर रामकुमार थापाले दमक नगरपालिकामा आर्थिक मितव्ययिता र सुशासन आफनो कार्यकालको पहिलो प्राथमिकता हुने बताउँदै आगामी पाँच बर्षमा दमकबासीले अनुभूति गर्न सक्ने किसिमको परिवर्तन गर्ने उदघोष गरेका छन ।


आफना प्राथमिक कामहरुको संक्षिप्त सूची प्रस्तुत गर्दै नगर प्रमुख थापाले यहाँ सञ्चालित राष्ट्रिय महत्वका पूर्वाधार बिकास सम्बन्धिका योजनाहरुको कार्यान्वयनमा भने माथिल्लो तहका सरकारको ध्यानाकर्षण गराउने उनको प्रतिबद्धता छ । रिपोर्टस क्लब मेची शाखाले आज ( बुधबार) दमकमा आयोजना गरेको नयाँ जनप्रतिनिधिहरुसंगको साक्षात्कारमा नगर प्रमुख थापाले तत्काल ७ वटा मुख्य बिशेषता बोकेको परिणाममुखी बजेट तथा कार्यक्रमहरु ल्याइने जनाउ दिए । उनले नगर प्रमुख पदलाई जिवनकालकै प्रमुख उपलब्धिका रुपमा लिएको आशय राख्दै नगरबासीले आफूमाथि गरेको विश्वासलाई घात हुने काम कदापी हुन नदिने पनि बताए ।

नगर प्रमुख थापाले आगामी बजेट शिक्षा, स्वास्थ्य र विपन्न समुदायका नागरिकको प्राथमिकतामा रहने पनि बताए । उनले अबको बजेटले नगरमा रहेका सबै सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तरमा व्यापक सुधार ल्याउन, विपन्न वर्गका नागरिकको दैनिक जिवनयापन र स्वास्थ्यका क्षेत्रमा यो बर्ष कम्तीमा १ हजार विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरिको तयारीमा आफू रहेको पनि बताए । बाहिर कतिपय मानिसहरुले नगरको कार्यपालिकामा अल्पमत र बहुमतलाई कारण देखाएर काम गर्न नसक्ने अडकलबाजीहरु गर्ने गरेको आफूले सुनेको बताउँदै उनले भने– म यि र यस्ता कुराहरुको पछि लागेको छैन र लाग्दिन पनि मैंले सधैं यही दमक नगरबासीको हित र बिकास सोच्ने हो अरु कुरातिर मैंले चासो राखेको पनि छैन र महत्व दिएको पनि छैन ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले कर्मचारी संयन्त्र सरकारको हतियार भएको बताए । उनले भने – हामी भनेको हतियार हौं सरकार (जनप्रतिनिधि)ले कसरी काट्नु हुन्छ, उहाँहरुमा भर पर्ने कुरा हो । राईले दमक नगरले आन्तरिक आयश्रोतलाई बलियो बनाउन आवश्यक रहेको पनि उल्लेख गरे । उनले बजेटले थेग्न नसक्ने गरी योजनाका चाङ लाग्ने गरेको पनि बताए ।
कार्यक्रममा दमक वडा नं १ का अध्यक्ष हरि न्यौपानेले आफनो कार्यकालको पहिलो प्राथमिकता पनि शिक्षा क्षेत्रनै भएको बताए । उनले वडामा रहेको एकमात्र सामुदायिक बिद्यालय भृकुटी माविमा शिक्षक दरबन्दीको अभाव रहेकोले वडाको सिलिङ बजेटबाटै भएपनि शिक्षकको बन्दोबस्ती गरेर गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ ? भन्नेमा आफू केन्द्रित रहेको बताए ।

वडा नं ७ का वडाअध्यक्ष भिमप्रसाद पौडेलले आफनो वडामा सार्वजनिक सम्पत्ति अन्य वाडको तुलनामा भन्दा धेरै भएकाले त्यसको संरक्षण आफनो पहिलो कर्तव्य भएको बताए । आफू तीन कार्यकालदेखि लगातार वडामा जनप्रतिनिधि रहेको बताउँदै घरमा बम ब्लाष्ट गराउँदा पनि आफू विचलित नभई सार्वजनिक सम्पत्तिको संरक्षणमा लागेको उल्लेख गरे । आफनो वडामा अधिक विपन्नहरुको बसोबास रहेका कारण विपन्नलाई लक्षित गरेर कार्यक्रमहरु तय गर्ने वडाध्यक्ष पौडेलको भनाई छ । कार्यक्रम क्लबका अध्यक्ष शेखर सेढाइँको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comments Box