नेपाल विद्यार्थी संघले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषादीयुक्त फलफूल तथा तरकारी उपहार पठाएको छ ।
भारतबाट आयात हुने तरकारी तथा फलफूल बिना परीक्षण आयात गर्ने सरकारी निर्णयको विरोधमा चरणवद्ध आन्दोलनको घोषणा गरेको नेविसंघले पूर्व्निर्धा्रित कार्यक्रमअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत विषादीयुक्त तरकारी तथा फलफूल प्रधानमन्त्री ओलीलाई उपहार पठाएको हो ।
यसैबीच नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्ले, निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टलगायतका नेविसंघका नेता कार्यकर्ताले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी उपहार पठाएको छ ।
नेविसंघका पूर्वकेन्द्रीय सदस्य भट्टले तरकारी तथा फलफूल सरकारी निर्णय खारेज गरिनेपर्ने माग गर्दै सो माग पूरा नगरे थप संघर्षको कार्यक्रम चेतावनी दिए । आइतबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ पूर्वमहामन्त्री काफ्लेले भारतीय तरकारी बिना जाँच आयात गर्ने सरकारी निर्णय विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए ।
जसअनुसार सोमबार देशभरका क्याम्पस अगाडि तरकारीसहित विरोध प्रदर्शन गर्ने तय भएको थियो । यस्तै मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट प्रधनमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल प्रमलाई उपहार पठाउने तय भएको थियो ।