दमक/ झापा कमल ५ को गुह्येश्वरी आधारभुत बिद्यालयमा कक्षा ६ मा अध्ययनरत जीना बिकका बाबु मान बहादुर विश्वकर्मा तीन बर्ष अघि बिते । आमा रत्ना बिश्वकर्मा खानपान र स्वास्थ्यमा ध्यान नदिँदा ओछयान परेको थिइन ।
पतिको निधन भएको २ बर्ष पुग्दा नपुग्दै पत्नी रत्ना बिकले पनि जिना र उनका दिदीबहिनी समेतलाई बेसहारा बनाउँदै संसार छोडिन । सहनै नसक्ने बज्रपात पर्यो । बाल मनोविज्ञानमानै नराम्रो असर पर्ने गरि एकपछि अर्को गर्दै अभिभावक गुमाएकी जीनाको पठनपाठनमा निरन्तरताका लागि चर्को आर्थिक संकट आइ लाग्यो । संरक्षक आफना नातेदारको पनि आर्थिक अवस्था कमजोर भएपछि जीनाको नियमित अध्ययनमा बाधा पुग्ने अवस्था आयो ।
सहायक प्रधानाध्यापक बिष्णुप्रसाद खनाललाई पनि जीनाको शैक्षिक भविष्यको चिन्ताले पिरोलिरहेको बेला अचानक दमक आएको बखत एउटा ब्याग पसलमा दमककी युवा व्यवसायी बिन्दु सिटौला (लक्की)संग कुराकानी हुने मौका जुर्यो ।
प्रधानाध्यापक खनालले जीना र उस्तै उस्तै अवस्था परिस्थिती झेलिरहेकी सपु राईको शैक्षिक निरन्तरताका लागि सहयोग गरिदिन आग्रह गरे ।
दमक उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य समेत रहेकी सिटौलाले पनि उदार भावना प्रकट गरिन र ति दुवै छात्राको घर परिवारमै पुगिन । अवस्था दर्दनाक किसिमको पाएपछि उनले ति दुवै छात्राको शैक्षिक भविष्यको जिम्मा लिदैं अभिभावकत्व ग्रहण गर्ने बचन दिइन । सिटौलाकै सहयोगमा अहिले आमाबाबु बिहिन जीना अहिले कक्षा ८ मा पढदैछिन ।
उनी आफना काका काकीको घरमा बसेर बिद्यालय आउँछिन भने बाबुबिहिन सपु राई असहाय ( राम्रोसंग बोल्न नसक्ने) आमा संगीताको संरक्षणमा बसेर कक्षा ४ मा नियमित अध्ययनका लागि आइरहेका छन ।
ति दुवै छात्राको शैक्षिक निरन्तरताका लागि आर्थिक सहयोग गरिरहेकी सिटौलाले तेस्रो शैक्षिक सत्रका लागि आवश्यक सम्पूर्ण खर्च वापतको रकम ब्यहोरेकी छिन । सिटौलाले सो बापत लाग्ने रकम बराबरको चेक बिद्यालयमै बिद्यार्थी तथा शिक्षकहरुको उपस्थितीमा बिहिबार सहायक प्रधानाध्यापक खनाललाई हस्तान्तरण गरिन ।
उनले आधारभुत तहको मात्रै अध्ययन सो बिद्यालयमा हुने भएकाले अर्को शैक्षिक सत्रदेखि जीनालाई नजिकैको अर्को बिद्यालयमा पनि शैक्षिक सहयोगलाई निरन्तरता दिने बताइन । उनले भनिन– मैंले यि नानीहरुलाई उनीहरुकै चाहना अनुसार जुनसुकै तह सम्म पनि पढन लाग्ने खर्च ब्यहोर्ने संकल्प गरिसकेकी छु र त्यसलाई निरन्तरता दिन्छु ।
