बर्दिया/ बाघ नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीयमाथि प्रहरीले बर्दियामा चलाएको गोली लागेर बर्दियाको मधुवन नगरपालिका २ स्थित आरोली बजारमा एक युवतीको मृत्यु भएको छ।
बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा बाघसहित वन्यजन्तुको आक्रमण बढेको भन्दै सोमबार दिउँसो स्थानीयले गुलरिया–राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द गरेका थिए। स्थानीयले अवरुद्ध गरेको सडक खुलाउन परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयमाथि बल प्रयाग गर्दा घटना भएको हो।
घटनामा मधुवन नगरपालिका २ की करिब २० वर्षीया नविना थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदयश सापकोटाले जानकारी दिए। उनी १२ कक्षाकी विद्यार्थी भएको स्थानीयले बताएका छन्।‘सडक अवरुद्ध गरेर बसेका प्रदर्शनकारीलाई हटाएर सडक खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुडा प्रहार भयो,’ प्रहरी निरीक्षक सापकोटाले भने, ‘आत्म रक्षाको लागि प्रहरीले गोली चलाउँदा थारुको मृत्यु भएको हो।’ उनले बाघ नियन्त्रणको लागि बर्दिया राष्ट्रिय निकुञ्ज र वन कार्यालयको टोली परिचालन भइसकेको र वार्ताको तयारी हुँदै गर्दा घटना भएको बताए। स्थानीयको ढुंगा प्रहारबाट १८ जना प्रहरी घाइते भएका उनले जानकारी दिए। घाइतेमध्ये प्रहरी हवल्दार पार्वता खड्काको अवस्था गम्भीर छ।