भद्रपुर/ भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले आज मिनी म्याराथन ९सडक दौड० र वृक्षारोपण गरेको छ ।
विश्व वातावरण दिवसको अवसरमा समाजले मिनी म्याराथन र वृक्षारोपण गरेको हो । क्याम्पस परिसरबाट शुरु भएको पाँच किलोमिटर लामो मिनी म्याराथन क्याम्पसमोड–सगरमाथाचोक–संगमचोक–जनताचोक–गणेश मन्दिर–मेची अस्पताल हुँदै पुनः मेची क्याम्पस पुगेर सम्पन्न भएको थियो । म्याराथनमा करिब एक सय जनाले सहभागिता जनाएका थिए ।
मिनी म्याराथनमा पुरुषतर्फ माने हास्दा प्रथम, विवेक रिजाल द्वितीय, लक्ष्मीप्रसाद रिजाल तृतीय भए भने महिलातर्फ सुस्मिता राई प्रथम, समीक्षा यादव द्वितीय र नमुना आङ्बो लिम्बू तृतीय हुनुभयो । त्यस्तै, क्याम्पस परिसरमा विभिन्न प्रजातिका २५० थान बिरुवा रोपिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले म्याराथनको उद्घाटन गर्नुभएको थियो । उहाँले विश्वव्यापी रुपमा बिग्रँदै गएको वातावरणलाई सन्तुलनमा ल्याउन यस प्रकारका रचनात्मक कार्यक्रम फलदायी हुने बताउनुभयो ।
त्यस्तै, विशिष्ठ अतिथि क्याम्पस प्रमुख जीवन पोखरेल, अतिथि स्ववियु सभापति भुवन बुढाथोकी लगायतका वक्ताले शुभकामना मन्तव्य दिँदै वातावरण संरक्षणमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।
वातावरण विज्ञान विद्यार्थी समाजका अध्यक्ष दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख देवीप्रसाद आचार्य, डा। कृष्णप्रसाद भट्टराई, वातावरण विभाग प्रमुख दिवस दाहाल, कर्मचारी संघका अध्यक्ष कमलसिंह राजवंशी लगायतको आतिथ्य रहेको थियो ।
