दमक / झापाको कमल गाउँपालिकाका निर्वाचित उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीसहित सबै जनप्रतिनिधिहरुले आज शुक्रबार एकसाथ सपथ लिँदै पदभार सम्हालेका छन ।
गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उपाध्यक्षसहित ३६ जना जनप्रतिनिधिहरुलाई एक समारोहका बीच सपथ ग्रहण गराउँदै बधाई तथा शुभकामना दिएका हुन ।
क्याम्पास्थित गाउँपालिका कार्यालय परिसरमा अध्यक्ष राईको सभापतित्वमा आयोजित कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष मेनुका काफले र उपाध्यक्ष वेनु शिवाकोटीले आफनो कार्यकालका कामको फेहरिस्त सुनाउँदै शुभकामना मन्तव्य राखेका थिए भने नवनिर्वाचित अध्यक्ष राईले तत्कालिन जनप्रतिनिधिको कार्यकालमा अधुरो रहेका सबै कामहरु पूरा गर्दै लैजाने प्रतिबद्धता जनाए । उनले कुरा भन्दा काममा आफूले ध्यान केन्द्रित गरेको बताउँदै समय आएपछि कमल गाउँपालिकाबासीले त्यसको अनुभुति गर्न पाउने उल्लेख गरे ।
सो अवसरमा तत्कालिन जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मानपूर्वक बिदाई गरिएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले कार्यक्रमको औचित्यमाथि प्रष्टयाएका थिए भने शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैबीच उपाध्यक्ष तिवारीले आज सपथ ग्रहण लगत्तै पदबहाली गरेकी छिन । उनले पदबहाली गर्दै दुई वटा निर्णयमा हस्ताक्षर गरेकी छिन । सामुदायिक र संस्थागत बिद्यालयमा बाल विवाह विरुद्ध महिला सचेतना सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र कर तथा राजश्व पुनरावलोकन सम्बन्धिको निर्णयमा उनले हस्ताक्षर गरेकी हुन ।



