दमक/ यसपटकको स्थानीय चुनावमा राप्रपालाई बैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउन सक्ने सम्भावना आंकलन गरिएको थियो ।
झापा जिल्ला राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको गृह जिल्ला पनि हो ।
यस अघि पार्टी महामन्त्री रहेका लिङदेन राप्रपाको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने एक्ला सांसद पनि हुन ।
उनी झापाको क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई एमाले र माओवादी केन्द्रसंगको तालमेलको सहारामा निर्वाचन जितेर सांसद बनेका हुन ।
राष्ट्रिय राजनीति र गृह जिल्ला झापा तथा उनको क्षेत्रमा भएको समिकरण फेरबदलसंगै राप्रपाले दोश्रो स्थानीय तहको निर्वाचनमा भने साविकका दुई पालिकाको अध्यक्ष पद गुमाएको छ ।
अघिल्लो निर्वाचनमा आफनो निर्वाचन क्षेत्र नं ३ का दुई पालिका र क्षेत्र नं ५ को एक पालिकामा प्रमुख पद जितेको राप्रपाले यसपटक दुई पालिका प्रमुख मात्रै जितेको छ । लिङदेनको क्षेत्रमा पर्ने भद्रपुरमा यसपटक उपप्रमुखमा सो पार्टीकी नेतृ राधा कार्की विजयी भइन । कांग्रेस एमाले गठबन्धन विरुद्धको लडाइँमा राप्रपाले कचनकवलमा हार ब्यहोर्न‘ परेको छ भने कांग्रेस माओवादीसहितको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा प्रमुख पद जित्न सफल भएको छ । दमकमा सो पार्टीका राम थापा नगर प्रमुख बनेका छन । वडाध्यक्षमा भिम पौडेलले हयाट्रिक गरेका छन । पौडेलले वडा नं ७ को वडाध्यक्षमा हयाट्रिक गर्दै गर्दा सोही पार्टीका तारा प्रसाद अधिकारी भने १ नम्बर वडाध्यक्षमा एमालेका हरि न्यौपानेसंग पराजित भएका छन ।
गठबन्धनरहित चुनावी प्रतिस्पर्धामा उत्रिदा क्षेत्र नं ५ कै गौरीगञ्ज गाउँपालिकामा भने राप्रपाले प्रमुख पद गुमाएको छ । अघिल्लो पटकको निर्वाचनमा राप्रपाका तर्फबाट गौरीगञ्जको अध्यक्षमा बाबुराजा श्रेष्ठ निर्वाचित भएका थिए भने अहिले सो पालिकाको अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी निर्वाचित भइन ।
श्रेष्ठ अहिले सो पालिका अध्यक्षको प्रतिस्पर्धामा तेस्रो स्थानमा झरेका छन । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका रविन्द्र लिङदेन दोश्रो कार्यकालका लागि विजयी भएर प्रतिष्ठा जोगाएका छन भने कचनकवलमा अन्जरा आलम ६,६६७ मतमा खुम्चिएका छन । त्यहाँ कांग्रेसका कालेन्द्र राजवंशी ११,४५७ मत ल्याएर अध्यक्षमा विजयी भए ।
