दमक/ झापाको गौरीगञ्ज गाउँपालिकामा अघिल्लो बर्ष एक जना पनि महिला गाउँपालिकाको बोर्डमा थिएनन । ६ वटा वडा रहेको यो पालिकामा प्रमुखदेखि वडाध्यक्ष सम्म सबै पुरुष मात्रै थिए । अध्यक्ष र उपाध्यक्ष द’वै पदमा फरक फरक पार्टीबाट पुरुष उम्मेदवारले जितेका थिए भने वडामा अनिवार्य गरिएका पदमा बाहेक वडाध्यक्ष पदमा महिला उम्मेदवारनै थिएनन ।
यसपटक संयोग यस्तो परेको छ की गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिलाले नेतृत्वको अवसर पाएका छन । गठबन्धनरहित एकल चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु मध्ये ७ जना पुरुष उम्मेदवारलाई पछि पार्दै गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेकी फूलवती राजवंशी निर्वाचित भइन् ।
नेपाल महिला संघ हुँदै पार्टीको तल्लो तहबाट राजनीतिमा उदाएकी उनी अहिले कांग्रेसको १ नम्बर प्रदेश समिति सदस्य समेत हुन । उनी अघिल्लो निर्वाचनमा नै गाउँपालिका अध्यक्ष पदमा निकटतम प्रतिद्धन्द्धी भएकी थिइन ।
फूलवती भन्छिन्, “हामी गौरीगन्जको प्रमुख नेतृत्वमा पुगेका छौँ । जुन विश्वासले मत पाएका छौँ, अब त्यही उत्साहले काम गर्नेछौँ ।”
फूलवतीले गौरीगन्ज अल्पसंख्यक राजवंशी र सन्थाल समुदायको अधिक बसोबास क्षेत्र भएकाले त्यसै अन’रुपका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अघि बढने योजना रहेको बताइन ।
“मतगणना स्थगन हुँदै फेरि सुरु गर्दा जितिएला कि हारिएला भन्ने द्विविधि थियो । तर, मतदाताले विश्वास गरेर मलाई विजयी गराउनुभयो,” गौरीगन्ज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरले भनिन, “पछि यस्तो परिणाम आयो कि अर्काे दलबाट अध्यक्ष पनि महिला नै जित्नुभयो ।”
नेपाली र समाजशास्त्र विषयमा स्नाकोत्तर पूजन यसअघि गाउँपालिका कार्यालयमा सामाजिक परिचालकका रूपमा कार्यरत थिइन् । सो पदमा छँदा उनलाई नागरिकसँग जोडिन धेरै सहयोग पुग्यो । त्यसपछि वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवामा खटिइन् । त्यसबाट पनि समस्यामा परेका सर्वसाधारणसँग जोडिन मद्दत मिल्यो ।
स्थानीय निर्वाचनमा नेकपा (एमाले)ले उनलाई उपाध्यक्षका लागि टिकट दियो । आफूभन्दा दिग्गज उमेदवारलाई हराउँदै पूजन निर्वाचित भइन् । उनी भन्छिन्, “हिजो पनि जनसेवामा थिएँ, अब त झन् जनमत प्राप्त गरेरै त्यो पदमा पुगेकी छु । महिला तथा पिछडिएका सामुदायको उत्थानमा काम गर्ने मेरो योजना छ ।”
मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेकी राजमती इङ्नाम विजयी भइन् । उपाध्यक्षमा उनकै पार्टीका भोलाप्रसाद अधिकारी निर्वाचित भए । कानेपोखरीकी निवर्तमान उपाध्यक्ष समेत रहेकी इङनाम यसअघि आफूले गरेको राम्रो कामबाट विश्वास गरेकाले नै पार्टीले अवसर दिएको बताउँछिन् । उनी भन्छिन्, “महिलाले नेतृत्व नहाँक्ने भन्ने कुरै हुँदैन । अब हामी योजनागत रूपमा आफ्नो कुशल नेतृत्व प्रस्तुत गर्दै अघि बढ्नेछौँ ।”
प्रदेश नम्बर–१ का विभिन्न पालिकाको नेतृत्वमा ६ महिला निर्वाचित भएका छन् । झापाको बिर्तामोड नगरपालिकाको प्रमुखमा एमालेकी पवित्रादेवी महतारा निर्वाचित भएकी छन् । उपप्रमुखमा एमालेकै नगेन्द्रप्रसाद संग्रौला निर्वाचित भए ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी मीनादेवी कार्की विजयी भइन् । त्यहाँ उपाध्यक्षमा कांग्रेसकै डावाङ लाक्पा शेर्पा निर्वाचित भए ।
यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा कांग्रेसकी विमला राई निर्वाचित भएकी छन् । उपाध्यक्षमा कांग्रेसकै रमेशकुमार राउत विजयी भए । टिकट वितरणकै बेला राईलाई रोक्न खोजिएकामा उनले कांग्रेसको प्रदेश समितिमा भएको छलफलमा आफ्नो प्रस्ट एजेन्डा राखेर नेताहरूलाई प्रभावित बनाएकी थिइन ।
कांग्रेस प्रदेश–१ का कोषाध्यक्ष राजेश गुप्ताले भने, “उहाँलाई टिकट दिनेरनदिने भन्ने विषयमा संसदीय समिति पनि द्विविधामा थियो । तर, उहाँको कार्यकौशल र नेतृत्व क्षमताकै कारण पाउनुभयो । पछि निर्वाचन पनि जित्नुभयो ।”
खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई निर्वाचित भइन् । कांग्रेसका खेमबहादुर खड्का उपाध्यक्षमा निर्वाचित भए ।