गौरीगन्ज (झापा) /  ०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपा विजयी भएको झापाको गौरीगन्ज गाउँपालिकामा योपटकको चुनाव निकै रोचक हुने देखिएको छ ।

गौरीगन्जमा योपटक चर प्रमुख दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । गौरीगन्जमा कुनै दलले आपसी तालमेल र गठबन्धन गरेका छैनन् ।

विभिन्न दलहरूका तर्फबाट पालिकाको अध्यक्ष पदमा सातजनाको उमेदवारी परेको छ । अघिल्लो निर्वाचनमा प्राप्त परिमाणमलाई विश्लेषण गर्दा गाउँपालिका अध्यक्षमा मुख्यतः चार प्रमुख दलका उमेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

अघिल्लो निर्वाचनमा अध्यक्षमा नेपाली कांग्रेस र राप्रपाबीच मुख्य प्रतिस्पर्धा भएको थियो । राप्रपाका बाबुराजा श्रेष्ठले बाजी मारे । कांग्रेसकी प्रत्यासी फूलवती राजवंशीले अन्तिमसम्म टक्कर दिए पनि सानो मतान्तरले पराजित भएकी थिइन् । अरू पदहरूमा कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो ।

योपटक विशेषगरी चार दलका उमेदवारबीच प्रतिस्पर्धा हुने स्थानीय नेता तथा उमेदवार बताउँछन् ।

कांग्रेसले नेत्री फूलवती राजवंशीलाई पुनः अध्यक्षको उमेदवार बनाएको छ । महिला र स्थानीय आदिवासी तथा अल्पसंख्यकको प्रतिनिधित्व गर्ने भएकाले आफूलाई मतदाताको शुभेच्छासहितको समर्थन रहने राजवंशी बताउँछिन् । “म आदिवासीको रूपमा मात्र नभएर एउटा सशक्त महिला उमेदवारको रूपमा उभिएकी छु,” उनले भनिन् । उनी कांग्रेस राजनीतिमा निकै लामो समयदेखि सक्रिय छिन् ।

योपटक पनि राप्रपाका तर्फबाट ०७४ मा समेत अध्यक्षमा निर्वाचित बाबुराजा श्रेष्ठ उमेदवार बनेका छन् । अहिले पनि फूलवती र बाबुराजाबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

आफू फेरि एकपटक नेतृत्वमा पुग्ने श्रेष्ठको दाबी छ । उनी भन्छन्, “कतिपय अधुराअपुरा काम पूरा गर्न पनि मैले नेतृत्वमा जानुपर्ने अवाश्यकता भएको हो ।”

अध्यक्षमा एमालेबाट विजयकुमार अग्रवाल र माओवादी केन्द्रकी मेनुका राजवंशी उमेदवार छन् । अग्रवाल कांग्रेस, लोसपा हुँदै अहिले एमालेमा प्रवेश गरी गौरीगन्जको अध्यक्ष पदको उमेदवार बनेका हुन् । तत्कालीन महाभारा गाउँ विकास समितिको निर्वाचित अध्यक्ष भएर उनले एक कार्यकाल काम गरेका थिए ।

जनता समाजवादी पार्टी (जसपा)बाट घनश्याम रिजाल अध्यक्षका उमेदवार छन् । लामो समयसम्म कांग्रेस राजनीति गरेका उनी पार्टी परित्याग गरी जसपाबाट उमेदवार बनेका हुन् । उनले भने, “कांग्रेसमा वास्तविक कार्यकर्ताको मूल्यांकन नभएपछि जसपातिर आएको हुँ ।”

माओवादी केन्द्रका तर्फबाट अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका विद्यानन्दसिंह राजवंशी योपटक उपाध्यक्षका उमेदवार छन् । राजवंशी माओवादीको सशस्त्र युद्धकालदेखि राजनीतिमा सक्रिय नेता हुन् । उनी तत्कालीन कोचिला राष्ट्रिय मुक्ति मोर्चाको राज्य समिति अध्यक्ष समेत भएका थिए । अहिले पार्टीको गौरीगन्ज गाउँपालिकाका इन्चार्ज छन् ।

उनीसँगको प्रतिस्पर्धामा कांग्रेसका तर्फबाट उपाध्यक्षमा मखना महतो र एमालेकी उदीयमान महिला नेत्रीका रूपमा पुजन न्यौपाने कुँवर छिन् । महतो यसअघिको निर्वाचनमा गौरीगन्ज–३ मा वडाध्यक्ष निर्वाचित भएका थिए । महतो झापा उद्योग वाणिज्य संघ गौरीगन्ज, खजुरगाछी शाखाका अध्यक्ष हुन् ।

न्यौपानेलाई नयाँ पुस्ताकी उदीयमान नेत्री मानिएको छ । उनी भन्छिन्, “म युवाले समेत राजनीतिमा राम्रो काम गर्न सक्छन् र योजनागत रूपमा विकासलाई अघि बढाउन सक्छन् भन्ने उदाहरण दिन चाहन्छु ।”

उपाध्यक्षमा सन्थाल समुदायकी रानी सोरेनलाई राप्रपाले अघि बढाएको छ । उपाध्यक्ष पदमा सातजना चुनावी मैदानमा छन । बाह्रखरीबाट

Facebook Comments Box