दमक/ नेकपा एमाले गौरादह नगर चुनाव प्रचार प्रसार समितिले आज सोमबार वडा नं ५ को कोहबरामा चुनावी कार्यक्रमलाई निरन्तरता दिएको छ ।
एमालेको तर्फबाट नगर प्रमुख पदका प्रत्यासी छत्रपति सुवेदीको प्रभाव क्षेत्र मानिने सो वडामा भएको चुनावी सभालाई एमाले नेताहरुसंगै अधिवक्ता टिकाराम भट्टराईले पनि सम्बोधन गरेका छन ।

सभालाई एमालेका पोलिब्युरो सदस्य एवं प्रदेश सरकारका तत्कालिन मन्त्री हिक्मत कार्की, एमाले झापाका जिल्ला कमिटी अध्यक्ष दिपक कार्की, मेयर पदका प्रत्यासी सुवेदी, उपमेयरकी प्रत्यासी जलबर्षा राजवंशी , एमाले गौरादह नगर कमिटी अध्यक्ष मित्रदेव काफलेले पनि सम्बोधन गरेका छन ।
सो अवसरमा वक्ताहरुले एमालेबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका नेताहरुले प्रशासनिक तथा बिकासे अडडाहरुमा राखेको पहुचका भरमा सो क्षेत्रमा सञ्चालन भएका योजनाहरुमा कांग्रेसले जवरजस्त जस लिन खोजेको भनि चर्को आलोचना गरे । आफूहरुको सोझो पहल र सक्रियतामा गौरादह नगरलाई बिकासको बाटोमा डोहोरयाउने काम भएको तर्क गर्दै वक्ताहरुले जनता ढँटने प्रयास नगर्न कांग्रेसलाई चुनौती पनि दिए । एमाले विरुद्ध बनेको गठबन्धनलाई जनताले नपत्याउने उनीहरुको दाबी थियो ।


सभामा चुनावी घोषणा पत्रमा समेटिएका कुराहरु जस्ताको तस्तै कार्यान्वयन गर्ने नगर प्रमुखका प्रत्यासी सुवेदीले प्रतिबद्धता गरेका थिए । स्थानीय नागरिकहरुले भोग्दै आएको नदी कटानदेखि युवा, महिला, बालबालिकाका समस्याहरु, कृषि क्षेत्रमा आधुनिकीकरणदेखि समग्र शिक्षा, स्वास्थ्य , रोजगारका बिषयहरु समेटिएका उनले बताए ।
गुमेको साख फर्काउने प्रयास
पार्टी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ अन्तर्गतको दोश्रो ठुलो स्थानीय तहका रुपमा रहेको गौरादहमा अघिल्लो निर्वाचनमा नगर प्रमुख पद गुमाउदा एमालेले देशव्यापी रुपमा आलोचना खेप्नु परेको थियो । कांग्रेसका रोहितकुमार साह नगर प्रमुखमा निर्वाचित भएका थिए । झिनो मतान्तरले एमालेका मदन अधिकारी नगर प्रमुख हुनबाट रोकिनु पर्दा त्यसको नकारात्मक सन्देश पार्टीमा गएको थियो ।
तत्कालिन गौरादह , महारानीझोडा , जुरोपानी , कोहोबरा र बैगुन्धुरा गाविसको समायोजनबाट बनेको गौरादह नगरपालिका तत्कालिन अवस्थामा एमालेको राम्रो प्रभाव भएको पालिकाका रुपमा हेरिएको थियो । यो भुगोलसहितको तत्कालिन झापा क्षेत्र नं ६ बाट दुई पटकसम्म एमालेका दिपक कार्की संविधान सभा सदस्यमा निर्वाचित भएका थिए भने यही पालिका समेतको आशिंक भुगोल समेटने प्रदेश सभा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेश सभामा एमालेकै युवा नेता तथा पूर्व मन्त्री हिक्मत कार्की निर्वाचित भएका थिए । यसकारण पनि गौरादहको यो भुगोललाई एमालेको पकड क्षेत्रका रुपमा लिने गरिन्छ । नगर प्रमुखका उम्मेदवार सुवेदी भन्छन – मतदाता कसैको पेवा होइनन, यसपटक हामीले यहा गत चुनावमा गुमेको साख फर्काउनेछौं ।
को हुन उम्मेदवार सुवेदी ?
तत्कालिन कोहोबरा गाविस हालको गौरादह नगरपालिका वडा नं ८ का निर्वाचित वडाध्यक्ष छत्रपति सुवेदीको राजनीतिक यात्रा भने निक्कै अघि पुख्र्यौली थलो ताप्लेजुङबाट भएको हो । २०१३ सालमा जन्मिएका सुवेदीले २०३९ देखि २०४३ साल सम्म ताप्लेजुङ जिल्ला पञ्चायत सदस्यका रुपमा रहेर काम गरिसकेका छन । उनले राजनीतिक परिवर्तनसंगै २०४७ सालमा नेकपा एमालेतर्फ राजनीतिक यात्रा अघि बढाएका हुन । उनी एमालेको गाउ, इलाका कमिटीमा रहेर पनि सांगठनिक सक्रियता देखाइसकेका छन ।
उनले लामो समय सम्म कोहोबराको भद्रकाली माविको व्वस्थापन समिति अध्यक्ष समेत भएर जिम्मेवारी निर्वाह गरेका छन । उनकै अगुवाईमा रतुवा नदी नियन्त्रण तथा उपभोक्ता समिति गठन गरेर दमकदेखि कोहोबरासम्मका विभिन्न खण्डमा नदी नियन्त्रणको काम भएको छ ।