दमक/ मोरङको ग्रामथान गाउँपालिका वडा नं.–४ कटहरामा जुवा खेलिरहेका दमकका एक जनासहित ७ जना जुवाडेलाई नगद ६ लाख ४१ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कौडा र नगद छ लाख एकचालिस हजार तीन सय पन्ध्र रुपैयाँ) सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दमक २ का ३६ बर्षिय निलम लिम्बु, मेचीनगर ६ का ५७ बर्षिय हरिश्चन्द्र गिरी, धरान ६ का ४४ बर्षिय सन्तोष थापामगर , ग्रामथान गाउँपालिका वडा नं.–५ बस्ने बर्ष ५४ का रूपेश कुमार तामाङ , ४७ बर्षिय सुरेश कुमार थारू , २८ बर्षिय रंजित साह र विराटनगर–४ का ४७ बर्षिय सत्य नारायण राजबंशी रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
