दमक/ नेकपा एमालेका उम्मेदवारहरुले दमक नगरपालिकामा मनोनयन दर्ता गराएका छन ।

दमक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका तर्फबाट घोषित ५२ जनाले एकसाथ मनोनयन दर्ता गराएका हुन ।
एमालेका तर्फबाट नगर प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिकाप्रसाद खनालले उम्मेदवारी दिएका हुन् । यसअघि दमक नगर उपप्रमुखको जिम्मेवारी सम्हालिसकेकी अधिकारीले प्रमुख पदमा उम्मेदवारी दिदैं समग्र दमकको विकासका लागि आफनो उम्मेदवारी भएको बताइन ।
उनले भनिन– हामीले गरेका कामको मुल्यांकन यहाँका नागरिकले गरिरहनु भएको छ, हामीले सबैलाई प्रत्याभूति हुने गरि विकास अभियान चलाएका छौ । एमालेले केन्द्र तहमा कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसंग समेत तालमेल गरेको भएपनि ति पार्टीका तर्फबाट दमकमा कोही पनि उम्मेदवार छैनन । दमकमा एमाले एक्लैले सबै सिटमा बिजय हासिल गर्ने भन्दै आएको छ ।
एमालेले दमकका १० मध्ये ५ वटा वडामा एमालेले हालका वडाध्यक्षलाई पुन उम्मेदवारका रुपमा दोहोरयाएको छ । पुन उम्मेदवार बन्ने अवसर पाउने बहालवाला वडाध्यक्षहरुमा वडा नं २ मा प्रजापति सापकोटा, ३ मा नबिन बराल, ५ मा इन्द्र गुरुङ, ६ मा टेकबहादुर थापा र १० मा बोधराज न्यौपाने रहेका छन । वडा नं १ मा यस अघिको निर्वाचनमा वडाध्यक्ष निर्वाचित राप्रपाका तारा प्रसाद अधिकारीसंग निकटतम प्रतिस्पर्धी बनेका हरि न्यौपानेलाई पुनः उम्मेदवार बनाएको छ । एमालेले वडा नं ४ मा झसराज ढकाल , ७ मा राधाकृष्ण आचार्य, ८ मा दिपेश दाहाल र ९ मा कुबेर भट्टराइलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । स्थानीय निर्वाचन आगामी ३० बैशाखमा देशभर एकसाथ हुँदैछ ।
मौलिक जरो किलोबाट पनि उम्मेदवार
दमक नगरमा मौलिक जरोकिलो पार्टीले पनि नगर प्रमुखमा उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा सो पार्टीका तर्फबाट राजकुमार दाहालले नगर प्रमुखमा पहिलो उम्मेदवारी दर्ता गराएका बताइएको छ ।