दमक/ नेकपा एमालेले दमक नगरमा चुनाव प्रचार प्रसार समितिको कार्यालय स्थापना गरेको छ । स्थानीय निर्वाचनलाई लक्षित गर्दै दमक ५ र ६ को संगमस्थल भृकुटी चोकस्थित एक निजी घरमा एमालेले चुनाव प्रचार प्रसार समितिको कार्यालय सञ्चालनमा ल्याएको हो ।
शुक्रबारदेखि कार्यालयमा नेता, कार्यकर्ताहरुको उपस्थिती देखिन थालेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर पार्टीको केन्द्रीय निर्देशन अनुसार आजदेखि अधिकांश पालिकाहरुमा चुनाव प्रचार प्रसार समितिको कार्यालय सञ्चालनमा आएको हो । ३० बैशाखमा हुने स्थानीय चुनाव प्रयोजनार्थ नगरका दश वटै वडाहरुमा पनि वडास्तरीय चुनाव प्रचार प्रसार समितिको कार्यालय सञ्चालनमा आउने एमालेका स्थानीय नेताहरुले बताएका छन ।
उम्मेदवार छनोट भए, सार्वजनिक गर्न बाँकी
एमालेले दमक नगरमा स्थानीय निर्वाचनका लागि सबै उम्मेदवारहरुको अन्तिम टुंगो लगाइसकेको स्रोतले जनाएको छ । एमालेले औपचारिक रुपमा उम्मेदवारहरुको नाम सार्वजनिक नगरे पनि नगर प्रमुखमा गीता अधिकारी, उपप्रमुखमा अम्बिका खनालसहित १० वटै वडामा वडाध्यक्षका उम्मेदवारहरुको अन्तिम टुंगो गरेको हो । स्रोतका अनुसार दमकका २, ३, ५, ६ र १० नम्बर वडामा एमालेले साविककै निर्वाचित वडाध्यक्षहरुलाई नै पुनः उम्मेदवार बनाउने अन्तिम तयारी गरेको छ भने अन्य वडाहरुमा नयाँ उम्मेदवारहरु अघि सार्ने तयारी छ ।