दमक/ नेकपा एमालेले दमक र गौरादहका आशिंक वडाहरुमा आसन्न स्थानीय निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
वडा कमिटीले पार्टीको निर्देशन अनुसार वडाध्यक्षसहित वडाका सबै उम्मेदवारहरुको नाम माथिल्लो कमिटीमा सिफारिस गरेका हुन ।
सामाजिक सञ्जालहरुमा आसन्न निर्वाचनका लागि सर्वसम्मत उम्मेदवारहरुको चयन भएको ब्यहोरा उल्लेखित पोस्टहरु सार्वजनिक भइरहेका छन ।
सार्वजनिक भए अनुसार दमकको ५ नम्बर वडाध्यक्ष पदमा हालका वडाध्यक्ष इन्द्र गुरुङलाई एमालेले अघि सारेको छ । उनी पार्टीका दमक नगर कमिटी सचिव तथा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अनुशासन समितिमा समेत जिम्मेवारी निर्वाह गरिसकेका नेता हुन । अधिकांश समय पार्टी संगठनको काममा बिताएका गुरुङ सो पार्टीबाट सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार सिफारिस भएका हुन ।
त्यसैगरी दमकको ६ नम्बर वडामा पनि एमालेले वडाध्यक्ष पदमा साविककै वडाध्यक्ष टेकबहादुर थापालाई अघि सारेको छ । लामो समय व्यवसायिक क्षेत्रमा बिताएका थापा नगरपालिकाको वातावरण सम्बन्धिको समितिका संयोजक समेत छन । उनको उम्मेदवारी सिफारिस एमालेले सर्वसम्मत रुपमा निधो गरेको जनाइएको छ । नाम सिफारिस भएपछि वडाध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत फेरी एकपटक वडाबासीको सेवाका लागि आफू तयार रहेको भन्दै पार्टी पक्तिंमा धन्यवाद व्यक्त गरेका छन ।त्यसैगरी दमक ८ को वडाध्यक्षमा वडा सदस्य भिमराज चौंलागाइँ, पार्टी नेता खेम श्रेष्ठ लगायतका उम्मेदवारहरुको नाम बाहिर आएको छ । त्यहाँ पनि उम्मेदवार सिफारिस सर्वसम्मत गराउने प्रयत्न भइरहेको एमाले स्रोतले जनाएको छ ।
त्यसैगरी गौरादह नगरपालिकाको १ नम्बर वडाका वडाध्यक्ष नगेन्द्र भण्डारी पनि आगामी चुनावमा सोही पदमा उम्मेदवारका रुपमा प्रस्तुत हुने भएका छन । उनीसहित वडा समितिका सबै उम्मेदवारहरु एमालेले सर्वसम्मत चयन गरेको सार्वजनिक भएको छ । वडा नं २ मा पनि हालका वडाध्यक्ष प्रजापति सापकोटाले सो पदमा दोहोरयाउने आशय प्रकट गरेका छन । पार्टीमा उनले आफनो दाबी पेश गरेपनि वडामा पार्टी भित्रै अन्य आकांक्षीहरु समेत रहेकाले तत्काल निधो भइनसकेको जनाइएको छ ।
त्यसैगरी शिवसताक्षी नगरपालिका वडा नम्बर १० र ११ मा नेकपा एमालेले वडा अध्यक्ष सहित वडा कार्यपालिका सदस्य पदका उम्मेदवारको नाम टुङगो लगाएको छ ।
दुईवटै वडामा वाडध्यक्षका ४/४ जना आकांक्षी थिए । वडा नम्बर ११ मा डिल्ली रमण खतिवडा, देवेन्द्र खरेल, वहादुर आङवो र डम्बरकुमार लामा आकांक्षी थिए । लामा वडाका पार्टी अध्यक्ष हुन् । खतिवडा पार्टीका जिल्ला कमिटी सदस्य हुन् भने खरेल नगर सदस्य हुन् । यी नाम मध्ये बहादुर आङवो वडाध्यक्षको उम्मेदवार बन्ने निधो आज भएको हो । आङवो यस अघि निर्वाचित वडा सदस्य हुन् ।
सो वडाको खुल्ला सदस्यहरुमा पर्शुराम अधिकारी, प्रेमलाल भुजेल, महिला सदस्यमा मेलिना राई र दलित सदस्यमा जुनु मोहोराको नाम पनि टुङगो लागेको छ । शिवसताक्षीकै वडा नम्बर १० मा पनि वडा अध्यक्ष सहित वडा कार्यपालिका सदस्य पदका उमेद्वारको नाम वडा कमिटीले टुङगो लगाएको छ ।
वडा नम्बर १० को वडाध्यक्षमा नेकपा एमालले यस अघिका वडा कार्यपालिका सदस्य हर्कधन सिगुलाई सर्बसम्मत चयन गरेको छ ।