निष्कर्ष न्यूज टिप्पणी
दमकमा आसन्न स्थानीय निर्वाचनको तयारीमा रहेका दलहरु उम्मेदवार छान्ने सकसमा छन । क्लिन स्विप गर्ने योजनासहित चुनावी रणनीति तय गरेको यहाँको स्थानीय सत्तापक्ष अर्थात सबैभन्दा ठुलो दलको हैसियतमा रहेको नेकपा एमाले आफैं उम्मेदवार चयनको ठुलो सकस ब्यहोरिरहेको छ ।
चुनावी चर्चा परिचर्चा शुरु हुनु अघिदेखि नै एमालेकी गीता अधिकारी दमक नगर प्रमुखको दाबेदारका रुपमा प्रस्तुत भइसकेकी छिन ।
उनी अनुभव र शैक्षिक योग्यता र अहिलेको कार्यकालमा देखाएको सक्रियताका आधारमा जित निकाल्न सक्ने बलियो उम्मेदवारका रुपमा हेरिएकी छिन भने प्रशासनिक तथा माथिल्लो निकाय सम्म पहुँच राख्ने पार्टी सञ्जालमा जोडिएको आधारबाट इन्द्र भण्डारी तथा पार्टी संगठनमा निरन्तर सक्रियताका आधारमा अम्बिका खनाल र होम थापालाई पनि सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।
यि चार मध्ये कसलाई नगर प्रमुख पदको उम्मेदवार बनाउँदा जित सुनिश्चित हुन्छ भन्ने एमालेले निक्र्यौल निकाल्न बाँकी छ । राष्ट्रिय राजनीतिको सोझो असर र प्रभाव पर्ने गरेको दमकमा आसन्न निर्वाचनमा एमाले भर्सेस कांग्रेस, राप्रपा , माओवादी, एकीकृत समाजवादी , जसपा, लिम्बुवान लगायतको गठबन्धन नहोला भन्न सकिने अवस्था छैन । विशेष गरि नेकपा एमाले भित्रै उम्मेदवारी चयनको बिषयमा देखिएको उल्झन, राष्ट्रिय राजनीतिको प्रभाव आदिको कारण गठबन्धन शक्तिशाली हुने सम्भावना आदिको कारण गठबन्धन भित्रका दलहरुमा पनि मेयरका आकांक्षीको संख्या कम छैन ।
चर्चा परिचर्चामा आए अनुसार यहाँ राप्रपासहितको गठबन्धन भएमा राम थापानै एमालेलाई धक्का दिन सक्ने उम्मेदवारका रुपमा हेरेर चुनाव केन्द्रीत बहस भइरहेका छन । थापालाई कांग्रेस नेतृत्वको राष्ट्रिय तथा जिल्लास्तरको गठबन्धनले स्विकार्ने सम्भावना कम रहेको अनुमान पनि गर्न मुश्किल छैन । खासगरी राप्रपा र एमालेका बीचमा केही दिन अघि स्थानीयस्तरदेखि केन्द्रस्तर सम्म भएको संवाद र अनौपचारिक छलफलले कांग्रेस भित्रको गठबन्धनमा हलचल पैदा गरिदिएको छ । राप्रपा र एमालेबीच कुन तहमा के के छलफल भयो ? भन्ने आधिकारिक जानकारी बाहिर नआएपनि एमालेले दमकमा उपप्रमुखसहित ३ देखि ४ वटा वडा राप्रपालाई दिन तयार भएको भन्ने चर्चा भने नभएको होइन ।
त्यस्तो अवस्थामा कांग्रेससहितको गठबन्धनले राप्रपासंग तालमेल गर्ने हो वा नगर्ने हो ? भन्ने यकिन छैन । यदी चर्चामा आएजस्तै राप्रपा र एमालेबीच त्यो प्रयत्न भएको भए कांग्रेससहितको गठबन्धनले राप्रपा एमाले बाहेकको गठबन्धनलाईनै अघि बढाउनु पर्ने दबाबमा गठबन्धनका नेताहरु पर्नेछन । त्यस्तो परिस्थिति आएमा गठबन्धनबाट कांग्रेसका प्रकाश प्रसाइँ र माओवादीका गगन पुरी नगर प्रमुखका सम्भावित उम्मेदवार हुन सक्छन । कांग्रेस भित्र गठबन्धननै गर्नु नहुने तर्क राख्दै थापालाई कुनै हालतमा नस्विकार्ने उदघोष भित्र भित्रै कतिपय नेताहरुले गरिरहेका छन ।
यो परिस्थितीमा एमाले र राप्रपा गठबन्धन भए यसले महत्वपूर्ण कुराको संकेत गर्दछ – पहिलो त क्लिन स्विप गर्ने योजनासहित चुनावी रणनीति बनाएको एमालेले विगतमा भन्दा कमजोर हुन सक्ने सम्भावना बुझेर क्लिन स्विपको योजना बिफल हुने संकेत पाएको छ । यसको प्रत्यक्ष असर संसदीय निर्वाचनमा पनि पर्ने बुझेर उ राप्रपासंग सम्बन्ध बिकासको आधार बलियो बनाउन चाहन्छ ।