प्रदेश १ का अलग अलग घटनामा चार जनाको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा गाँउपालिका-२ लासा टोलका २३ बर्षीय मुकेश भट्टराईको चट्याङले लागेर मृत्यु भएको छ । हिजो राति पौने ९ बजे अबिरल बर्षासंगै परेको चट्याङले लागेर घाईते भएका भट्टराईलाई तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा उपचारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ । त्यसैगरी सुनसरी र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ मा हिजो दिउँसो को ३१ प ५३९६ नम्बरको मोटरसाकल आफै अनियन्त्रीत दुर्घटना हुँदा घाईते भएका स्थानीय २३ बर्षीय अमृत बि.क.को उपचारको क्रममा बिराटनगरको बिराट नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी झापाको गौरादह नगरपालिका-१ मा हिजो बेलुका पानी बोक्ने ट्याङकरमा मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । गौरादहको भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे २ प ३९१२ नम्बरको मोटरसाईकल सडकमा बिग्रिएर रोकि राखेको को १ ख २४७९ नम्बरको पानी बोक्ने ट्याङकरमा ठोक्किदा मोटरसाईकल चालक स्थानीय ३६ बर्षीय राम सोरेनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका-६ स्थित भित्रि सडक खण्डमा पिकअपको ठक्करबाट १ जनाको मृत्यु र १ जना घाईते भएका छन । हिजो बिहान साढे पाँच बजे प्रदेश १-०१-००१ च ९१०७ नम्वरको पिकअप गाडीले ठक्कर दिई दुर्घटना हुँदा पैदल यात्री अर्जुनधारा-६ का ५३ बर्षीय कृष्ण निरौलाको घटना स्थलमै मृत्यु भएको हो ।