दमक/ दमकमा जारी दमक गोल्डकपका सञ्चार तथा आर्थिक उपसमितिका संयोजकहरुले जिम्मेवारीबाट अलगिएको घोषणा गरेका छन् । गोल्डकप आयोजकले प्रतियोगितामा एकपक्षिय गतिविधि गरेको भन्दै नेपाली कांग्रेस निकटका दुई संयोजकसहित विभिन्न जिम्मेवारी पाएका तीन जनाले सामूहिक रुपमा अलगिएको घोषणा गरेका हुन् । सञ्चार उपसमितिका संयोजक बबरजंग थापा, आर्थिक उपसमितिका संयोजक चन्द्र खत्री , खेलकुद विकास समितिकी सदस्य दिलु सुब्बा लगायतले आफनो जिम्मेवारीबाट अलगिएको घोषणा गरेका हुन् । उनीहरुले कांग्रेसको दमक नगर समितिलाई जानकारी पत्र पठाएर गोल्डकपमा पाएको आआफनो जिम्मेवारीबाट १२ चैतदेखि अलग भएको उल्लेख गरेका नगर सचिव दिपेश दाहालले जानकारी दिए ।
कांग्रेसले तीन दिन अघि गोल्डकप आयोजना गर्ने समितिले प्रतिनिधि सभा सदस्य महेन्द्रकुमारी लिम्बुसहित कांग्रेस र अन्य दललाई समेत उपेक्षा गरेर एमालेकरण गरेको र भ्रष्टाचार हुने संकेत समेत देखिएको तर्क गर्दै असन्तुष्टी जनाएको थियो । कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी सांसद महेन्द्रकुमारी लिम्बूसहितका नेताहरुले गोल्डकपलाई राजनीतिकरण गरिएको भन्दै पार्टीका जिम्मेवार नेता, कार्यकर्ताहरुलाई गोल्डकप सम्बद्ध सबै समितिबाट अलग हुन निर्देशन गरेको थियो ।
यसैबीच दमक गोल्डकपमा एमाले पक्षले एक्लौटी गरेको भन्दै राप्रपाको स्थानीय नेतृत्वले पनि आपत्ती जनाएको छ । राप्रपा सम्बद्ध युवक संगठनको दमक नगर कमिटीले विज्ञप्ती मार्फत त्यस्तो आपत्ती जनाएको हो । कमिटीका अध्यक्ष विनोद थापाले हस्ताक्षर गरेर निकालेको विज्ञप्तीमा दमक गोल्डकप सबै दमकेलीको साझा र गर्विलो इतिहास रहेकोमा यसमा नेकपा एमालेको कार्यक्रम जस्तो झल्को दिने गरि कार्यक्रम आयोजना गरिएको भनि टिप्पणी गरिएको छ । गोल्डकप आगामी स्थानीय चुनावलाई लक्षित गरेर एमालेले आयोजना गरेको भान हुने गरि आयोजना तथा व्यवस्थापन गरिएको आरोप पनि सो संगठनले लगाएको छ ।
