दमक/ समावेशी महिला सशक्तिकरण केन्द्र कमल झापाको ७ औं बार्षिक साधारण सभामा लेखापरिक्षकद्धारा तयार पारिएको लेखापरिक्षण प्रतिवेदन माग गर्ने एक जना आजिवन सदस्य महिला नेतृमाथि एमालेका स्थानीय नेताहरुले दुव्र्यवहार गरेको आरोप लागेको छ ।
एमालेका नेता छत्रहाङ फागोसहितको समुहले सो संस्थाको साधारण सभामा नै संस्थाकी आजिवन सदस्य समेत रहेकी कांग्रेस झापाकी जिल्ला सदस्य सरस्वती सेढाइँमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेको आरोप छ ।
९ चैत्रमा गाउँपालिका उपाध्यक्ष वेनु शिवाकोटीको प्रमुख आतिथ्यमा भएको साधारण सभामा वडा सदस्य चक्र गुरुङकै उपस्थितीमा  फागो, विरेन्द्र अधिकारी र कार्यक्रम सञ्चालक ममता श्रेष्ठ गुरुङसहितले बोलिरहेको अवस्थामा माइक्रोफोन खोस्दै ठेलाठेली गरेर अपशब्दसहित गाली गलौज गरेको सो संस्थामा आवद्ध सेढाइँसहितको समुहले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेरनै जनाएको हो ।आरोपित मध्ये फागो एमालेका वडा कमिटी इञ्चार्ज र अधिकारी गाउँ कमिटी उपसचिव भएका बताइएको छ ।
उनीहरुका अनुसार केही पुरुषहरु सो संस्थाको सल्लाहकारका रुपमा छन । पीडित सेढाइँसंगै पत्रकार सम्मेलनमा सहभागी अगुवा महिलाहरुले महिला हकहितका निम्ति खोलिएको गैह्र नाफामुलक सो संस्थामा एमाले पक्षले राजनीतिकरण गर्दै नेतृत्व चयनदेखि आर्थिक प्रतिवेदन पारित गर्ने सम्मका सवालमा एक्लौटी निर्णय गरेर संस्थाको उद्धेश्य विपरित गरिमामा आँच आउने कृयाकलाप गरिरहेको पनि जिकिर गरेका छन ।
सो संस्थाको साधारण सभामा पास भएका बिधान सम्बन्धिका संशोधित बुँदाहरु समेत सम्बन्धित निकायमा प्रमाणित नगराई एमालेको भातृ संस्थाका रुपमा सो संस्थालाई अघि बढाइनु दुखद भएको पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।

Facebook Comments Box