दमक / नेपाली कांग्रेसले दमक नगरपालिकालाई पूरै एमालेकरण गरिएको भन्दै एकल दबदबा राखेर स्थानीय सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको छ ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी प्रतिनिधि सभा सदस्य महेन्द्रकुमारी लिम्बुको प्रमुख उपस्थितीमा कांग्रेसको स्थानीय नेतृत्वले आज (बिहिबार) पत्रकार सम्मेलन गरेरै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले दमकमा साझा संस्थाका रुपमा रहेको सांसद पदको समेत अवमुल्यन गरेको आरोप लगाएको हो । पछिल्लो समय दमकमा बुधबारबाट शुरु भएको दमक गोल्डकपमा समेत एमालेका जनप्रतिनिधिहरुले भ्रष्टाचारका लागि नगरपालिकाका केही कर्मचारी र वडा सदस्यहरुलाई माध्यम बनाएको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा पत्रकार सम्मेलन मार्फतनै गोल्डकपको शुभकामना दिदै प्रतिनिधि सभा सदस्य लिम्बुले भनिन– गोल्डकप सफल रहोस हाम्रो शुभकामना छ तर गोल्डकपका नाममा हुने भ्रष्टाचार वा अनियमितता विरुद्ध हाम्रो कडा खबरदारी रहनेछ । गोल्डकपका नाममा गठन गरिएका कुनै पनि समितिमा बसेर भ्रष्टाचारलाई सहयोग नपुरयाँउन पनि उनले कार्यकर्ताहरुलाई निर्देशन दिइन् । नेताहरुले गोल्डकप उदघाटनमा प्रतिनिधि सभा सदस्य लिम्बुलाई आमन्त्रणनै नगरी मर्यादा क्रम मिचेर प्रमुख अतिथीको रुपमा प्रदेश सभा सदस्य अर्जुन राईलाई निम्ताएर सांसद पदको मान मर्दन गरेको भनि कडा आलोचना गरे ।
पत्रकार सम्मेलनमा कांग्रेसका स्थानीय नेताहरुले एकस्वरमा भने–सांसद, मेयर, उपमेयर वा कुनै पनि जनप्रतिनिधि , नगरपालिका कार्यालय भनेको संस्था वा सार्वजनिक निकायका रुपमा रहनु पर्ने हो तर सांसदको गरिमामाथि नै राजनीतिक रुपमा पूर्वाग्रही व्यवहार भयो । गोल्डकप उदघाटन प्रदेश सांसदबाट गराउने अनि प्रतिनिधि सभाको सांसदलाई भोली, पर्सि तपाइँ आउनु भन्ने खबर गर्नु आफैंमा हेपाहा र पूर्वाग्रहीपूर्ण व्यवहार हो ।
स्थानीय सरकारको पाँच बर्षको अवधिमा एमालेको बाहुल्यता रहेको दमक नगरमा १० औं सभा सम्म आइपुग्दा एक पटक पनि दमककै बासिन्दा रहेकी प्रतिनिधि सभा सदस्य लिम्बुलाई नगरपालिकाले आतिथ्य ग्रहणका लागि नबोलाउनुले नगरपालिका एमालेको एक्लौटी संस्था वा निकायका रुपमा रहेको बुझ्न कठिन नहुने नेताहरुको निष्कर्ष छ । बजेट, कार्यक्रम निर्माण प्रकृयामा समेत एमालेले एक्लौटी निर्णय गरेर सुरक्षित रुपमा भ्रष्टाचार गरिरहेको उनीहरुको बुझाई छ ।
कांग्रेस झापा क्षेत्र नं ५ का सभापति समेत रहेको नेता ढुण्डीराज भण्डारीले नगरपालिकाको कार्यशैली उत्तरकोरियाको शासन जस्तो भनि टिप्पणी गरे । कर्मचारी नियुक्तीदेखि अनुदान वितरण र कार्यक्रमहरुमा समेत नगरपालिकाका कर्मचारीलाई बिल भर्पाई मिलाउने बिचौलियाका रुपमा काम लगाएर एमाले नेता कार्यकर्ताहरुलाई पोस्ने काम अहिलेका जनप्रतिनिधिहरुले गरिरहेको आरोप लगाए ।
प्रदेश क्षेत्रका सभापति रवि केसीले गोल्डकप आफैंमा गौरवको बिषय भएपनि यदाकदा यसमा भएको राजनीतिकरणले भ्रष्टाचारको आधार बनेको बताए । कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइँले गोल्डकपको आयोजना सबैको साझा बन्न सक्नु पथ्र्यो भन्दै यसलाई सिमित घेरामा राखेर गोल्डकपको शानमा नै आँच आएको टिप्पणी गरे । उनले गोल्डकपका कुनै पनि गतिबिधिमा कांग्रेसको संस्थागत संलग्नता नरहेको पनि स्पष्ट पारे ।
