दमक/ भोली बुधबारबाट दमकमा दमक गोल्डकप सञ्चालन हुँदैछ । प्रतियोगिता उदघाटनको पूर्व सन्ध्यामा आज (मंगलबार) गोल्डकप सञ्चालनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गर्ने सो प्रतियोगिता दमक–३ स्थित प्रस्तावित मदन भडारी अन्तर्राष्ट्रिय रंगशालामा हुने आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
प्रतियोगितामा चार विदेशी टोलीसहित दश टिमको सहभागिता रहने पनि आयोजक दमक नगर खेलकुद बिकास समितिका अध्यक्ष भिमराज चौलागाइँले जानकारी दिए । प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्बल, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङमस्र्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जेलिङ, दुर्गापुर सन्डे क्बल कोलाकाता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने खेल संयोजक मोहन मगरले बताए । प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ । बुधबारको उद्घाटन खेलमा आयोजक दमक–११ र बागमती युवा क्लब सर्लाहीबीच खेल हुनेछ ।
प्रतियोगिताका लागि मैदान सम्याउने, प्याराफिट निर्माण लगायतको काम सकिएको छ । पाँच हजारदेखि सात हजार दर्शक अँट्ने प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन एक नम्बर प्रदेश सभा सदस्य अर्जुन राईले गर्नेछन् भने समापन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने अध्यक्ष चम्लागाईंले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चम्लागाईंले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

 

Facebook Comments Box