लेटाङ/मोरङको लेटाङ नगरपालिका–५ स्थित शिक्षा बिकास माध्यमिक बिद्यालयमा एक जना महिला प्रहरीमाथि स्थानीय समुहको आक्रमणबाट हत्या भएको स्थलमा उच्च सुरक्षा अधिकारीहरुको टोली पुगेको छ ।


प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको स्थलमा पुगेर १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी, सशस्त्र बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी तथा जिल्ला सुरक्षा समिति मोरङको टोलीले सोमबार स्थलगत अनुगमन तथा जानकारी लिएको हो ।

हिजो आईतबार सो बिद्यालयमा अध्ययनरत छात्रालाई सोही बिद्यालयका शिक्षक मनोज पौडेलले दुव्र्यवहार गरेको बिषयमा वाद विबाद हुँदा बिद्यार्थी तथा बिद्यार्थीका अभिभावकहरुको ४/५ सय जनाको समुहले बिद्यालयमा गरेको तोडफोड र भिड नियन्त्रण गर्न खटिएकी प्रहरी जवान श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो ।

यसैबीच बिराटनगर–७ स्थित कोशी अस्पताल परिसरमा मृतक प्रहरी जवान श्रेष्ठको पाथिर्व शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले नेपाल प्रहरी संगठनको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन । प्रहरीको बैण्ड सहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।

Facebook Comments Box