रौतहट/ २५ लाख बीमा रकम हात पार्ने लोभमा रौतहटमा एक बाबुले आफ्नै नाबालिका छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरेका हुन् ।
यादवले गत १६ गते घरमा कुटपिट गरी छोरीको हत्या गरी शव नजिकैको पोखरीमा फालेका थिए । हत्यापछि उनले छोरी हराएको भन्दै गुहार मागेका थिए अन्ततः १७ गते छोरी लक्ष्मीको शव पोखरीमा भेटिएको थियो । प्रहरीले नाबालिका लक्ष्मीको शव फेला परेपछि अनुसन्धानको क्रममा स्वयम् लक्ष्मीकै बाबुले बीमाको रकम हात पार्न उनको हत्या गरेको पत्ता लगाएको हो ।
रामकिशोरले कान्छी छोरी लक्ष्मीको एक महिना अघिमात्र स्थानीय प्रभु बैंकमा जीवन बीमा गराएका थिए । जीवन बीमा गर्दा बिमकको बीमा गरिएको एक महिनाभित्र मृत्यु भएमा बीमा रकम दोब्बर फिर्ता हुन्छ भन्ने सुनेपछि त्यसैको लोभमा छोरीको हत्या गरेको स्वीकारेका छन् ।

Facebook Comments Box