विराटनगर / मोरङको लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले छात्रालाई बलात्कार प्रयास गरेको भन्दै विद्यार्थी र स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि झडप भएको छ । घटनाको बिरोधमा स्थानीय र विद्यार्थी उत्तेजित भएपछि भएको झडपमा प्रहरी र विद्यार्थी गरि केही घाइते भएका छन ।
विद्यालयका शिक्षक मनोज पौडेलले होलीको दिन छात्राको घरमै गएर बलत्कारको प्रयास गरेको घटनापछि विद्यालयमा शिक्षक र स्थानीय जनप्रतिनिधिसहित छलफल भइरहेको अवस्थामा झडप भएको हो । आक्रोशित विद्यार्थी र स्थानीयबासीले शिक्षक र स्थानीय जनप्रतिनिधिलाई कोठामै थुनेर प्रदर्शन गर्दै आगजनीको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।
लेटाङ ५ का वडाध्यक्ष भीम सूर्य मगरले दिएको जानकारी अनुसार स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा पढ्ने एक छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थी र गाउँले बिहानैदेखि प्रदर्शनमा ओर्लिएका थिए। दिउँसो एक बजेतिर ती शिक्षकलाई पक्राउ गर्न गाउँ पुगेको प्रहरी टोलीले शिक्षकलाई नियन्त्रणमा लियो । तर, प्रहरीले आरोपित शिक्षकलाई बचाउन लगेको भन्दै गाउँलेले अवरोध गरे ।
साँझ पाँच बजेसम्म पनि गाउँलेले प्रहरीलाई ती शिक्षक लिएर जान दिएनन्। साँझमा झडप हुँदा प्रहरी र गाउँले घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् ।
त्यसैगरी स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको थियो। प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षको मोटरसाइकल जलाइ दिएका छन् । घटनामा सशस्त्र प्रहरी गण रानी विराटनगरकी महिला प्रहरी उर्मिला श्रेष्ठ गम्भिर घाइते भएको प्रहरी स्रोतले जनाएको छ ।