नेपालको तराई क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ । पहाडी जिल्लामा बिहीबार नै फागु अर्थात् होली मनाइए पनि तराईमा भने आज मनाइँन लागिएको हो । होली पर्वको अवसरमा सरकारले आज मधेस–तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

नेपालमा भौगोलिक संरचना र मान्यताअनुरूप फागुपूर्णिमा मनाउने प्रचलन छ । स्थानअनुसार मनाइने फागुपूर्णिमाको नाम पनि फरकफरक छ। हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ को रूपमा यो पर्वलाई चिनिन्छ।

कोरोना संक्रमणको जोखिम कम भएको कारण यस वर्षको होलीमा विषेश उल्लास छ । यसअघिका दुई वर्ष कोरोना संक्रमणको कारण होली पर्व खल्लो भएको थियो । गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ । होलीका नाममा उच्छृङ्खल गतिविधि गरे कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा होलीलाई शान्त र मर्यादित बनाउन मासु तथा मदिराको विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार विज्ञप्ति जारी गर्दै चैत ३ र चैत ४ गते सूर्योदयदेखि सूर्यास्तसम्मका लागि जनकपुरधाम क्षेत्रमा मासु तथा मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जानकारी दिएको हो ।

केही  वर्ष  अघिसम्म  फागु पर्वमा नाचिने नाच बिस्तारै लोप हुँदै गएको छ । ​ तराईका  जिल्लामा  होली  पर्वका  रूपमा  मानिए पनि पहाडी जिल्लामा भने फागु पर्वको अवसरमा तीन दिनसम्म ‘फागुनाच’ नाच्ने प्रचलन थियो । नयाँ    पुस्ताले    फागुनाचप्रति    चासो नदेखाएपछि  फागुनाच  लोप  हुने  अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।

फागु पूर्णिमाको अघिल्लो  दिनदेखि  होलीको  भोलिपल्टसम्म तीन    दिनसम्म    मादल,    पञ्चेबाजासहित फागुनाच  पछिल्लो  समय  देखिन  छाडेको माथागढी–१,  चिदीपानीका  राजकुमार  पन्थीले बताए । फागु  पर्वमा  नाचको  आफ्नै  महत्व  र विशेषता  भए  पनि  बिस्तारै  नाच  देखिन  छाडेको उनले    बताए ।    फागुमा    होलिकाको कथासँगै गाथा गाएर गीतसँगै नाच तीन दिनसम्म टोल–टोलमा  गुञ्जिन्थ्यो ।  पछिल्ला  वर्षहरूमा बिस्तारै  फागुनाच  र  गीत  हेर्न  र  सुन्न  छाडेको उनले बताए ।

Facebook Comments Box