दमक/ नेकपा एमालेको १ नम्बर प्रदेश कमिटी सचिवालयमा १८ जना झापाली नेताहरुले जिम्मेवारी पाएका छन ।
प्रदेश कमिटीको बैठकले जिल्लाका पाँच वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रका इञ्चार्ज तथा सहइञ्चार्जहरु समेत तोकेको छ । एमालेका अनुसार झापाबाट प्रदेश कमिटीको सचिवालयमा प्रदेश कमिटी सचिव चिन्तन पाठक, निर्वाचित सांसदहरुसहित १८ जना परेका छन ।
बैठकले प्रदेश कमिटी सचिवालय, भुगोल कार्यक्षेत्र र जनसंगठनहरुका ईन्चार्ज, सह–ईन्चार्ज, बिभागिय प्रमुख–उपप्रमुख र प्रदेश कमिटीका लागि मनोतित गरिने सदस्यहरुको नामसंगै पार्टीको प्रदेश सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चका प्रतिनिधिहरु समेत चयन गरेको छ ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पार्टी हाँक्नका लागि यस अघि अध्यक्ष ओलीको सचिवालयमा रहेका नेताहरुलाई नै प्राथमिकतासाथ जिम्मेवारी दिइएको छ । एमालेले अहिले बाँडफाँड गरेको जिम्मेवारी अनुसारनै आगामी स्थानीय निर्वाचनमा नेताहरुले भुमिका निर्वाह गर्ने भएकाले यसलाई एमालेको सांगठनिक संरचनामा निक्कै महत्व र अर्थपूर्ण रुपमा हेरिएको छ ।
क्षेत्र नं ५ मा पार्टीको क्षेत्रीय इञ्चार्जको जिम्मेवारी नेता होमबहादुर थापालाई दिइएको छ । थापा पार्टी अध्यक्ष तथा झापा क्षेत्र नं ५ मा सांसद ओलीका प्रतिनिधिका रुपमा समेत छन । यो क्षेत्रमा सह इञ्चार्जका रुपमा एमालेका तत्कालिन झापा जिल्ला कमिटी सचिव समेत रहेका मदन अधिकारी, नेतृ सुमित्रा भण्डारी र योगराज दाहालले जिम्मेवारी पाएका छन । क्षेत्र नं ५ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं (१) को इञ्चार्जमा अमर शिवकोटीले जिम्मेवारी पाएका छन सो क्षेत्रको सहइञ्चार्जका रुपमा शारदा पराजुली र ह्दय ठाकुरले जिम्मेवारी पाएका छन । भने ५ (२) मा अम्बिका खनाललाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । खनाल यस अघि पार्टीको दमक नगर अध्यक्ष र इञ्चार्जको समेत जिम्मेवारी सम्हालिसकेका नेता हुन । सो क्षेत्रको सहइञ्चार्जमा बलराम गजुरेल, भिम केरुङ र निर्मला पाठकले जिम्मेवारी पाएका छन ।
प्रदेश कमिटी सचिवालयमा भने चिन्तन पाठक ( प्रदेश कमिटी सचिव ), झापा क्षेत्र नं ४ का निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका नेता एलपी साँवा, प्रदेश संसद सदस्य वसन्त बानिया, हिरा थापा, बृख प्रधान, बिमला विक, सोमनाथ पोर्तेल, रोममणी भट्टराई, सुमित्रा भण्डारी, लोकबहादुर धिमाल, राजिव घिमिरे, होमबहादुर थापा, हृदय ठाकुर, अमर शिवाकोटी, प्रेम दहाल, बिनोद आचार्य, हरिचरण बाँनिया र खगेन्द्र नेपाल परेका छन । प्रदेश कमिटी सचिवालयमा नपरेका कतिपय नेताहरुले पनि क्षेत्रको इञ्चार्ज तथा सहइञ्चार्जको जिम्मेवारी पाएका छन ।