दमक/  अबको ठिक ६० औं दिनमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगबाट कूल ७९ दलले मान्यता पाएका छन । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगमा ११० राजनीतिक दल दर्ता भए पनि ८० दलले मात्रै दर्ताको लागि आयोगमा निवेदन दिएका थिए । आयोगले ७९ दललाई मात्र स्थानीय तह चुनावका लागि मान्यता दिइएको जनाएको छ ।

निर्वाचन आउन दुई महिना बाँकी रहँदा दलहरु भने चुनाव केन्द्रित अभियानमा जुटेका छन् । नेपाली कांग्रेसले २९ फागुनदेखि घरघर पुग्ने अभियान सुरु गरेको छ । अभियानको क्रममा कार्यकर्ताहरुलाई लक्षित गरेर अभिमुखीकरण सञ्चालन गरिरहेको छ । झापा क्षेत्र नं ५ मा पार्टीका केन्द्रीय सदस्य उमेशजंग रायमाझीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच अभियान शुरु गरिएको कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले बताए ।

अघिल्लो निर्वाचनमा क्षेत्रभर दोश्रो स्थानमा र दमक नगरमा अप्रत्यासित रुपमा चौथो स्थानमा झरेको कांग्रेसले यसपटक परिणामलाई उल्टाउने गरि निर्वाचन लक्षित कार्यक्रम गरिरहेको झापा क्षेत्र नं ५ (ख) का सभापति रवि केसीले बताए । सो अन्तर्गत अहिले विभिन्न वडाका टोल टोलमा टोल समिति गठन गरिसकिएको उनले बताए ।
पार्टी केन्द्रले औपचारिक रुपमा प्रतिनिधि खटाएर अभियान शुरु गर्नु अघिदेखिनै दमकका विभिन्न वडामा टोल समितिहरु गठन गरेर पार्टीलाई चलायमान बनाइएको कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइँले बताए । गाउँ घरमा पार्टीको अवस्था बुझ्ने र त्यसपछि चुनावी रणनीति बनाएर अघि बढने सभापति प्रसाइँले बताए ।

यस्तै एमालेले पनि चुनावलाई लक्षित गरेर पार्टीका पालिका र निर्वाचन क्षेत्रमा इञ्चार्ज तथा सहइञ्चार्जहरु तोकेको छ । एमालेको पकड क्षेत्रका रुपमा रहेको झापा ५ मा पार्टीको क्षेत्रीय इञ्चार्जको जिम्मेवारी भर्खरै होमबहादुर थापाले पाएका छन भने यो क्षेत्र अन्तर्गतको मुख्य नगरका रुपमा रहेको दमकमा बोधप्रसाद घिमिरेलाई नगर इञ्चार्ज तोकिसकेको छ । पार्टीको गाउँ नगर र जिल्ला कमिटीको नेतृत्व चयनका क्रममा नै एमालेले यो क्षेत्रमा पार्टी संगठनलाई चलायमान बनाइसकेको छ । पार्टी अध्यक्ष ओलीको निर्णयनै पार्टीको सर्वस्विकार्य निर्णय मान्नुपर्ने अवस्था यहाँका एमाले कार्यकर्ताहरुको छ ।

एमालेले यो क्षेत्रमा मात्रै नभएर देशैभर अन्य पार्टी छोडनेलाई एमालेमा प्रवेश गराउने कामलाई प्राथमिकता दिएको देखिन्छ । कतिपयले नवप्रवेशीहरुलाई आगामी चुनावका लागि उम्मेदवारका रुपमा समेत हेरिरहेका छन ।
पार्टी केन्द्रमै आन्तरिक टकरावका कारण एमालेबाट ठुलो समुहनै बाहिरिएर अलग पार्टीका रुपमा नेकपा एकीकृत समाजवादी पार्टी स्थापना भएपछि आगामी निर्वाचनमा सामना गर्नु पर्ने चुनौतीलाई मध्यनजर गर्दै यतिबेला एमाले अध्यक्ष केपी ओली स्वयं उपस्थित भएर अन्य कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराईरहेका छन ।
चुनावका सन्मुखमा पार्टी प्रवेशको पुरानै शैलीलाई पछयाउँदै गरेको एमालेले औपचारिक रुपमा भने केही दिनभित्रै अभियान सुरु गर्ने जनाएको छ ।
नेकपा माओवादी केन्द्रले पनि चुनाव केन्द्रित अभियान अन्तर्गत टोल टोलमा सांगठनिक गतिबिधिलाई बढाएको छ ।  माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले नगरका टोल टोलमा पार्टी र जनवर्गीय संगठनका कमिटीहरु गठन, पुनर्गठन गरिसकिएको बताए । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले पनि पहिलो पटक चुनावको सामना गर्दैछ । पार्टीका दमक नगर अध्यक्ष महेश घिमिरेले अघिल्लो निर्वाचनको परिणाम र अहिलेको अवस्थालाई विश्लेषण गरेर आफनो पार्टी ठिक समयमा ठिक निर्णय गरेर अघि बढने प्रतिक्रिया दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि यो क्षेत्रमा आफनो चुनावी तयारीलाई तिब्रता दिएको देखिन्छ । यो क्षेत्र अन्तर्गतको दमक नगर र गौरीगञ्जमा मुख्य प्रभाव राख्ने र अघिल्लो पटकको स्थानीय निर्वाचनमा राम्रो हैसियत बनाएको राप्रपाले क्षेत्रभरीनै चुनावलाई लक्षित गरेर संगठन परिचालन गरेको सो पार्टीले जनाएको छ । दमकमा एमालेलाई टक्कर दिने र गौरीगञ्जमा अध्यक्ष पदनै जितेको राप्रपाले यि पालिकाहरुमा बनाउने उम्मेदवार र पार्टी नेतृत्वको सक्रियताले यहाँको चुनावी परिणामलाई संकेत गर्ने अनुमान राजनीतिक वृत्तमा भइरहेको छ ।  माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेलमा जोड दिए पनि कांग्रेसमा यसबारे मतभेद छ ।

 

Facebook Comments Box