पोखरा/ नेकपा एमाले सम्बद्ध पत्रकारहरुको जनवर्गीय संगठन प्रेस चौतारी नेपालको ९ औं महाधिवेशन पोखरामा शुरु भएको छ । चौतारीले ८ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा गरेको ७ बर्षपछि ९ औं महाधिवेशन शुरु गरेको हो । महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरासभा गृहमा गर्नुभएको हो ।
महाधिवेशनका लागि पोखरामा देशभरका प्रतिनिधि भेला भएका छन् । महाधिवेशनले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ । महाधिवेशनमा विधान संशोधन प्रस्ताव अनुमोदन भएसँगै चौतारीमा अब अध्यक्ष एक, उपाध्यक्ष एक महिलासहित चार, एक महासचिव, तीन उपमहासचिव, एक कोषाध्यक्ष र सात प्रदेशबाट एक–एक जना गरी ७ सचिव हुनेछन् । देशभरका करिब एक हजार दुई सय प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ नेतृत्व छान्ने छ ।
