दमक/ झापाको कचनकवल गाउँपालिकालाई जनप्रतिनिधिहरुले आफना कार्यकर्ता पोस्ने भर्तिकेन्द्र बनाएको निष्कर्ष निकाल्दै नेपाली कांग्रेसको स्थानीय नेतृत्वले पालिकाको तथ्यगत खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणसहित विभिन्न शिर्षकको खर्च विवरण माग गरेको हो । पालिकाको सेवा प्रवाह समेत पारदर्शी नभएको उसको ठहर छ । निर्वाचित जनप्रतिनिधि नेतृत्वमा आएपछि गरिएका सबै कामको तथ्यगत खर्च विवरण माग गरिएको कांग्रेसले जनाएको छ । पार्टीका गाउँ सभापति तुलाराम अधिकारीको नेतृत्वमा गएको टोलीले विषयगत विवरणसहित खर्चको यथार्थ विवरण माग गर्दै गाउँपालिका प्रमुख अञ्जरा आलमलाई मागपत्र बुझाएको हो । ९ वटा बुँदामा राखिएको मागपत्रमा कृषि, पर्यटन, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कोरोना रोकथाम तथा उपचार खर्च, रोजगारी लगायत भौतिक पूर्वाधार विकास निर्माणका लागि गरिएका सबै खर्च र प्राप्त आम्दानीको तथ्यगत विवरण माग गरिएको छ ।
गाउँपालिका नेतृत्वले पारदर्शी खर्च गर्न नसकेको तथा जनताका पक्षमा काम नभएका कारण पटकपटक सचेत गराउँदासमेत अटेर गरेपछि ५ वर्षे खर्च विवरण माग्न बाध्य भएको नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि भूमिप्रसाद राजवंशीले बताए । विभन्न लोभ र लालचमा पार्दै स्थानीयलाई भोट बैंक बनाउन गाउँपालिका नेतृत्व लागिरहेको भन्दै विपक्षी काँग्रेस लगायतका दलहरू विरोध गरिरहेका छन् ।

Facebook Comments Box