दमक/ मोरङको उर्लाबारी ७ स्थित कृष्ण प्रधानको घरमा जुवा खेलाउन सहजताका लागि सिसी क्यामरा जडान गरेको पाइएको छ । सो घरबाट घर धनी समेत रहेका प्रधानसहित ७ जना जुवाडे पक्राउ परेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट त्यस्तो पाइएको हो । उर्लाबारी ७ स्थित प्रधानको घरमा तास खेलिरहेको अवस्थामा आज बुधबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा दमकका सूर्य प्रसाइँ, उर्लाबारी ५ का कमल शाक्य, उर्लाबारी १ का कृष्ण अधिकारी, झुम्का रामधुनीका लक्ष्मी बाँस्तोला, उर्लाबारीकै गोबिन्द केसी र शिव लिम्बु रहेका छन । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले पक्राउ परेका जुवाडेलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको जानकारी दिएका छन । प्रहरीले जुवाको खालबाट २ लाख ४२ हजार रुपैयाँ बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका घर धनी नेकपा एमालेको तर्फबाट गएको स्थानीय निर्वाचनमा उर्लाबारी ७ मा वडाध्यक्षको उम्मेदवारका रुपमा उठेका थिए । उनको घरमा तास जुवा खेल हुने गरेको गोप्य सूचनाको आधारमा जिल्लाबाट गएको प्रहरी निरीक्षकको टोलीले जुवाडे पक्राउ गरेको हो ।
‘घरमा कोही व्यक्ति आउन सक्ने भएकोले त्यसको निगरानी राख्न सिसी टिभी पनि जडान गरेको पाइयो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘प्रहरीले उनको घरमा छापा हानेको समयमा पनि सिसी टिभी खुल्ला रहेको पाइएको थियो ।’