दमक/ झापाको कमल– १ स्थित सरङपाडाका आर्थिक रुपमा विपन्न तथा अशक्त एक परिवारलाई नेपाली कांग्रेस वडा समितिको संयोजनमा पक्की घर निर्माणका लागि शिलान्यास गरिएको छ ।
स्थानीय मणिराम न्यौपानेको घर निर्माणका लागि कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले आज (मंगलबार) आयोजित कार्यक्रमका बीच शिलान्यास गरेका हुन ।
कांग्रेस नेता कार्यकर्ताहरुको करिब ५ लाख रुपैयाँको सहयोगमा निर्माण गर्ने योजनासहित शुरु भएको सो घर निर्माणको लागि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका प्रत्यासी उम्मेदवार सत्यनारायण चौधरीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन भने घर निर्माणमा लाग्ने सम्पूर्ण इटा ( करिब ७५ हजार रुपैयाँ बराबर)को सहयोग कांग्रेसका स्थानीय नेता तथा एवान इटा उद्योगका सञ्चालक बिष्णु कार्कीले प्रदान गर्ने घोषणा गरेका निर्माण समिति संयोजक फडिन्द्र भण्डारीले जानकारी दिए ।
थप कांग्रेसका क्रियाशील सदस्य र शुभेच्छुकहरुसंग सहयोग संकलन गरी घर निर्माण गरिने संयोजक भण्डारीले जानकारी दिए । शौचालय र बाथरुमसहित तीन कोठे घर आगामी चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरि निर्माण शुरु गरिएको उनले बताए । आर्थिक अवस्था कमजोर रहेका ६० बर्षीय न्यौपानेका श्रीमती र दुई छोरी रहेका छन् । न्यौपाने दम्पतीनै श्रवणशक्ति शून्य (कान नसुन्ने) अवस्थामा छन् । घर शिलान्यास कार्यक्रममा कांग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Facebook Comments Box