दमक/ युरोपेली मुलुक इटाली हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन्। मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका २७ वर्षीय सन्तोष श्रेष्ठ रात्रि आक्रमणमा परी मारिएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास संगठन (आईओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणमा परी श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ। यही असार १७ गते उक्त आक्रमण भएको र नेपाली मृतकका बारेमा थप विवरण प्राप्त नभएको दूतावासले बताएको छ । त्रिपोलीमा रहेका श्रेष्ठको शव नेपाल ल्याउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो। यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको थियो। ( एजेन्सीको सहयोगमा)