दमक/ पुख्र्यौली थलो धनकुटाको मारेकटारे भई हाल झापाको कमल ४ तोपगाछीमा बसोबास गर्दै आएका सामाजिक तथा शैक्षिक व्यक्तित्व ७८ बर्षिय उद्धवमणी पौडेलको निधन भएको छ ।
पछिल्लो समय दम रोगबाट पीडित पौडेलको बिहिबार कमल ४ मयुरभिट्टास्थित निजी निवासमा निधन भएको छोरा पदम बहादुर पौडेलले जानकारी दिए । २०२१ सालमा धनकुटा जिल्ला पञ्चायतको अधिकृत (स्थानीय बिकास अधिकारी) सरह रहेका स्वर्गीय पौडेलले जागिरे जिवनबाट अवकाश लिई २०२२ सालमा तत्कालिन मारेकटारे गाउँ पञ्चायतको प्रमुखका रुपमा समेत निर्वाचित भएका थिए ।
२००१ साल जेठ २५ गते बुबा मान बहादुर पौडेल र आमा तिलोत्तमा पौडेलको कोखबाट धनकुटाको तत्कालिन मारेकटारे गाउँ पञ्चायन वडा नं ९ मा जन्मिएका स्वर्गीय पौडेलले ९ बर्षको उमेरमा मञ्जुसंग बैबाहिक जिवन शुरुवात गरेका थिए । जिवनयापनका सिलसिलामा २०२९ सालदेखि झापाको तोपगाछीमा बसाइँसराई आएका स्वर्गीय पौडेल कमल ४ स्थित सरस्वती माविका संस्थापक हुन । उनी सो बिद्यालयका संस्थापक सञ्चालक समिति अध्यक्ष हुन । पौडेल २०३८ सालमा तोपगाछी पञ्चायत किसान संगठनका अध्यक्ष समेत रहेका थिए ।
तीन छोरा मध्ये जेठा धर्मराज पौडेल धनकुटा जिल्लाका पूर्व जिल्ला सभापति हुन भने माइलो छोरा पदम बहादुर पौडेल तोपगाछी गाबिसका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका नेता हुन । कान्छो छोरा कर्मराज पौडेल आइएमई इन्स्योरेन्सको केन्द्रीय कार्यालयका मार्केटिङ चिफका रुपमा कार्यरत छन । स्व. पौडेलका तीन छोरी क्रमश लक्ष्मी पौडेल कटुवाल, सिर्जना पौडेल खडका र अम्बिका पौडेलसहित नातीनातिना छन । स्वर्गीय पौडेलको शनिबार बिहान साढे १० बजे अन्त्येष्टीका लागि कन्काई घाट लगिने पारिवारिक स्रोतले जनाएको छ ।
