दमक/ एमसीसी सम्झौताको विरोधमा आन्दोलनरत नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको दमक नगर कमिटीले संयुक्त रुपमा बिहिबार दमकमा सडकमै जनमत संग्रह गरेका छन ।

दमकको गणतन्त्र चोकमा भेला भएका माओवादी केन्द्र र नेकपा एसका नेता, कार्यकर्ता तथा एमसीसी सम्झौताको विरोधमा उत्रिएका सर्वसाधारणहरुका बीचबाट सो सम्झौताको पक्ष र विपक्षमा मतदान गरेर जनमत संग्रह गरिएको थियो । माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष रवि बस्नेतका अनुसार सो जनमत संग्रहमा एमसीसीको पक्षमा २ मत र विपक्षमा ६१५ मत खसेको थियो त्यस्तै १९ मत बदर भएको थियो । उनीहरुले एमसीसी सम्झौता खारेजी गर्न माग गर्दै दमक चोक क्षेत्रमा एमसीसी बिरुद्ध बिरोध प्रदर्शन समेत गरेका छन् ।

सो क्रममा नेकपा (माओवादी केन्द्र) सम्बद्ध बुद्धिजिवी परिषद प्रदेश १ की अध्यक्ष एबम् दमक बहुमुखी क्याम्पसकी प्राध्यापक राधिका ओझा, एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियू केन्द्रीय सदस्य तथा दमक बहुमुखी क्याम्पसका स्ववियू सचिव रोशन भण्डारी, नेकपा (माओवादी केन्द्र) दमक नगर इन्चार्ज बेदु गौतम, एकीकृत समाजवादी जिल्ला सदस्य टीका प्रसाई लगायतले सम्बोधन गरेका थिए ।

Facebook Comments Box