दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं ३ को वडा कार्यालय बुधबार (आज)देखि आफनै भवनमा सञ्चालनमा आएको छ । गौरीगञ्जको मुख्य चोक हुँदै पूर्व तर्फ हुलाकी मार्गबाट करिब ३ सय मिटर दक्षिणमा रहेको पालिकाको स्वामित्वको करिब साढे ४ कठठा जग्गामा नवनिर्मित एक तले भवनमा सो कार्यालय सञ्चालनमा आएको हो । नवनिर्मित भवनमा प्रवेश तथा कार्यालय भवनको उदघाटन गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले गरेका छन भने वडाध्यक्ष मखना महतोले स्थानीय सृजनाकुमारी राजवंशीलाई नागरिकता प्रमाण पत्रको सिफारिस गरेर सेवा प्रवाहको शुभारम्भ गरेका छन ।
वडाध्यक्ष महतोको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले यससंगै गाउँपालिकाका ४ वटा वडाहरुले आफनै भवनबाट सेवा सुचारु गरेको बताए । उनले पालिकाका थप २ वटा वडाले समेत छिट्टै आफनै भवनबाट सेवा प्रवाह गर्ने तयारी भइरहेको पनि जनाए । वडाध्यक्ष महतोले यसअघि साझा संस्थानको भवनमा सञ्चालित वडा कार्यालयले सहज र सरल रुपमा अब चुस्त दुरुस्त सेवा प्रवाह गर्न सजिलो हुने विश्वास व्यक्त गरे । सो अवसरमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सन्तोष श्रेष्ठ, वडाध्यक्ष कूलप्रसाद गिरी लगायतले पनि मन्तव्य राखेका थिए । संघीय सरकारबाट आर्थिक बर्ष २०७७/०७८ र ०७८/०७९ मा प्राप्त करिब ६२ लाख रुपैयाँको लागतमा सो भवन निर्माण सम्पन्न भएको वडा सचिव गोविन्द राजवंशीले जानकारी दिए ।


