दमक/ धरान–४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शव  दिनेश सिग्देलको भएको पुष्टिसंगै हत्यामा संलग्न कान्छी श्रीमती र उनका प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । शवपहिचान भएसंगै सो घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । १ नम्बर प्रदेश प्रहरीका अनुसार फाल्गुन ४ गते बेलुका ५ बजे सो स्थानमा जेब्रा झोलामा प्याक गरेर फालेको अबस्थामा टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै अवस्थामा शव फेला परेको थियो ।
टुक्रा टुक्रा अवस्थामा शव फेला परे संगै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान समुह र तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानका क्रममा सो शव बाँझो–१ घर भई हाल बिराटनगर महानगरपालिका–३ मा अस्थाई बसोबास गर्दै आएका ४३ बर्षीय दिनेश सिग्देलको रहेको खुल्न आएको हो । शवको पहिचान भएसंगै घटनामा संलग्न समुहको खोजी गर्ने क्रममा मृतककै श्रीमती ३० बर्षीया अनिता के.सी. र बिराटनगर महानगरपालिका–०४ का २९ बर्षीय सरोज भण्डारीले उनको हत्या गरेको खुल्न आएको प्रहरीको दाबी छ ।
बैदेशिक रोजगारीमा गएर फर्केका सिग्देलकी जेठी श्रीमती झापाको शिवसताक्षीमा आफना छोराछोरीसहित बस्दै आएकी थिइन भने सिग्देल कान्छी श्रीमती अनितासंगको मात्रै सम्पर्कमा थिए । कान्छी श्रीमती अनिताको योजनामा पौष २२ गते साँझ साँढे ५ बजे सिग्देलकै कोठामा घाँटी थिचेर उनको हत्या गरेको खुल्न आएको प्रहरीको भनाई छ । अनिताका प्रेमी भण्डारी र अनिता मिलेर हत्या गरे पश्चात पौष २३ गते ग्लेन्डर मेशीन र खुकुरीको प्रयोग गरी शवलाई टुक्रा टुक्रा पारेर टेम्पो रिजर्व गरेर हाल शव फेला परेको स्थानमा लगेर फालेको खुल्न आएको हो । यसरी श्रीमतीकै मिलेमतोमा हत्या भएको खुल्न आएसंगै दुबै जनालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय धरानलाई उदृत गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Facebook Comments Box