दमक/झापाको गौरादह ५ का ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर निशुल्क दन्त परिक्षणसहित दाँतको उपचार क्लिनिक सञ्चालन गरिएको छ । वडा भित्रका ६० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सेवा दिने उद्धेश्यले शुरु गरिएको सो सम्बन्धिको चार दिने क्लिनिक सेवाको गौरादह नगर प्रमुख रोहितकुमार साहले उदघाटन गरेका छन । पहिलो दिन सो वडाका कूल ३२ जनाको दाँत परिक्षण गरिएको वडाध्यक्ष छत्रपति सुवेदीले जानकारी दिए । उनले १२ गते सम्ममा वडाका कूल २०० जना ज्येष्ठ नागरिकहरुलाई सो सेवा प्रदान गरिने पनि बताए । क्लिनिकमा आएका ज्येष्ठ नागरिकहरुलाई चिकित्सकहरुको सिफारिस अनुसार दाँत खोल्ने, कृत्रिम दाँत लगाउने तथा दाँत सम्बन्धि अन्य समस्याहरु भए उपचार सेवा समेत प्रदान गरिने वडाध्यक्ष सुवेदीले बताए । स्कूलचौनस्थित वडा कार्यालय परिसरमा शुरु भएको सो क्लिनिकमा गौरादह ५ नम्बर वडा ( साविक महारानी र कोहबराका आशिंक वडा)हरुका ज्येष्ठ नागरिकहरुले सेवा लिन सक्ने बताइएको छ ।
वडाको आर्थिक बर्ष २०७८÷०७९ को कूल साढे ३ लाख रुपैयाँको पूर्व निर्धारित बजेटबाट आमा डेन्टल केयर दमक ६ को प्राविधिक सहयोगमा सो क्लिनिक सञ्चालन गरिने वडाध्यक्ष सुवेदीले बताए ।

 

Facebook Comments Box