दमक/ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिलाई सेवासंग जोडनुपर्ने औंल्याएका छन । राजनीति सेवमुलक हुन नसके यसप्रति सचेत र सक्षम युवा पुस्ताको आकर्षण हुन नसक्ने भएकाले राजनीतिलाई बदनाम हुनबाट जोगाउनु अहिलेको चुनौती भएको पनि उनको धारणा छ । नेपाली कांग्रेस गौरादह ३ को वडा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टी भवनलाई जनताको भावना बुझने घरका रुपमा स्थापित गराउन पनि सुझाव दिए ।
फरक प्रंसगमा नेता शर्माले कम्युनिष्टहरुले विगतको निर्वाचन पाँच बर्षका लागि मात्रै जित्दै गर्दा ५० बर्ष सम्म शासन गर्ने हुँकार लगाएका तर जनताले दिएको म्याण्डेडलाई बिर्सिएर आपसी विवादमा रुमल्लिएको स्मरण गरे । मुलुक कोरोना महामारीको चपेटमा रहेका बेला तत्कालिन सरकार पक्ष कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु केपी ओली र प्रचण्ड आपसी विवादमा रुमल्लिएको तर कांग्रेसले कोरोना महामारी नियन्त्रण तथा राहत कोषमा ५० लाख रुपैयाँ पोको सरकारलाई बुझाएको पनि उनले स्मरण गराए ।
एमसीसीका बिषयमा आफनो धारणा राख्दै महामन्त्री शर्माले नक्कली राष्ट्रवाद धेरै छताछुल्ल भइसकेको बताए । उनले एमसीसी नेपाल आउँदैमा अमेरिकी सेना नआउने जिकिर गर्दै देशको भौतिक पूर्वाधार बिकास अपरिहार्य भएको र त्यसका लागि पर्याप्त बजेटको आवश्यक भएका कारण यो नेपाल र नेपालीको हितमा भएको तर्क गरे । बिद्युत उत्पादनका लागि अरुण तेस्रो परियोजना नेपालमा भित्रयाउन लाग्दा २०५१ सालमा देशभर त्यसको विरोध भएको, अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्दा पनि केही मान्छेहरुले विरोध गरेको स्मरण गर्दै एमसीसी लाई पनि तिनै ठुला परियोजनाहरुसंग तुलना गरे । नेपाल पानीमा धनी देश भएकोले यहाँको पानीबाट विजुली निकालेर अरु मुलुकलाई निर्यात गरी मुलुकलाई सम्पन्न बनाउन सकिने उनले बताए । उनले भने– के नेपालमा एमसीसी अघि बढाउँदै गर्दा नारायणकाजी, भिम रावलहरु थिएनन ? एमसीसी अघि बढाउँदै गर्दा दुई दर्जन देशहरुमा कार्यान्वयन भएको एमसीसी परियोजनाका बिषयमा समेत गहन अध्ययन र विश्लेषण गर्नु आवश्यक भएको पनि बताए । सो अवसरमा कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि समेत रहेका गौरादह नगर प्रमुख रोहितकुमार साह लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । कांग्रेसले निर्माण गर्ने सो पार्टी कार्यालयको भवनका लागि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष समेत रहेका कांग्रेस झापाका नेता दिपिन्द्र थापाले निशुल्क जग्गा उपलब्ध गराएका बताइएको छ ।

