दमक/ रगत उत्पादन नहुने गम्भिर प्रकृतिको स्वास्थ्य समस्याका कारण लामो समयदेखि पीडित झापाको कमल ६ साविक लखनपुर सोनापुरका १२ बर्षिय एक बालकलाई बचाइदिन परिवारले सार्वजनिक अपिल गरेका छन । गम्भिर प्रकारको स्वास्थ्य समस्याका कारण लामो समय परिवारले ठुलो रकम उपचारमा खर्च गरिसकेका कारण थप सहयोगका लागि पीडित बालक युनिक थापाको परिवारले सार्वजनिक अपिल गरेको हो ।
१२ वर्षिय युनिक लामो समय देखि रगत सम्वन्धि समस्याबाट पिडीत छन् ।


उनलाई चिकित्सकहरुलाई बोनम्यारो एनिमिया भएको बताएको उनकी आमा सुभद्रा थापाले बताईन् । उनका अनुसार बालक ६ महिनाको हुँदा देखिनै स्वास्थ्य समस्या देखिन थालेको थियो । त्यस लगत्तै उपचार शुरु गरेका उनीहरुले नेपाल र भारतका अधिकांश अस्पतालहरु पु¥याए । ११ महिनाको हुँदा देखिनै नियमित जसो रगत दिई रहनु पर्ने अवस्था थियो । तर अहिले दिनहुँ जसो रगत दिनु पर्ने र जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने चिकित्सकहरुले बताएपछि विपन्न आर्थिक अवस्थाको थापा परिवार समस्यामा परेको सो वडाका वडाध्यक्ष नरेन्द्र भट्टराई बताउँछन ।
छोरो बचाउन १५ बर्षदेखि दुवईमा
युनिकका बुवा राजकुमार १५ वर्ष देखि वैदेशिक रोजगारीका क्रममा हाल दुवईमा छन् । भएको एक कट्ठा जमिन पनि रेलमार्गको भागमा परे पछि बेचबिखन हुने अवस्था छैन । ‘उहाँले विदेशमा कमाएको सवै पैसा छोराको उपचारमा सकियो’ सुभद्राले भनिन्–‘अहिले सम्म कति खर्च भयो, कुनै हिसाव छैन । जति कमाएको सवै खर्च उपचारमै हुँदैछ । उहाँ (श्रीमान) लाई पनि नेपालै फर्कने मन छ तर के गर्नु छोराको उपचारका लागि भए पनि आउने अवस्था छैन ।’
घरमा वृद्ध बुवा र आमा छन् । एउटी ५ वर्षकी छोरी छन् । आम्दानी केहि छैन । बाँस र माटोले बनाएको सामान्य घर छ । एकातर्फ छोराको उपचारको चिन्ता, अर्का तर्फ सानी छोरीको पढाई लेखाई । दैनिक गुजरा त गर्नुनै छ, त्यसमाथि वृद्ध बुवा आमाको हेरचार पनि अर्को जिम्मेवारी । ‘अब त हात नफैल्याई हुँदै भएन, सवैको साथ सहयोग भए छोरालाई बचाउन सकिन्थ्यो कि ….’–सुभद्राले गुनासो पोखिन ।
युनिक बचाउ अभियान, भण्डारीले दिए ५० हजार
युनिकलाई ५ वर्षकी बहिनी युनिसा थापाको बोनम्यारो ट्रान्सप्लान्ट गर्न मिल्ने डाक्टरहरुले बताएका छन् । तर त्यसका लागि ठुलो रकम खर्च हुने चिकित्सकहरुको भनाई उदृत गर्दै हजुरबुबा टठबहादु थापाले त्यति ठुलो रकम जुटाउन नसकिएको बताए । छोराले कमाएको पैसा अहिले सम्म उपचारमै सकियो, भएको एक कठठा जमिन पनि रेल आउने कुराले बेचबिखन गर्न पाइएको छैन । कसरी त्यति ठुलो पैसा जुटाउनु ? सहयोग संकलनका लागि स्थानीयबासीहरुले सोही ठाउँका सहकारीकर्मी अरुण भण्डारीको संयोजकत्वमा युनिक बचाउ अभियान गठन गरेका छन । दमक स्थित सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका प्रवन्ध निर्देशक समेत रहेका भण्डारीले सो अभियानमा ५० हजार रुपैयाँ सहयोग स्वरुप प्रदान गरेर अभियानको शुरुवात गरेका हुन । बिरामी बालकका छिमेकी समेत रहेका उनले भने–‘अहिले बालकको जीवन बचाउने पहिलो कर्तव्य हामी सवैको हो, त्यसैले जति सकिन्छ सहयोग गर्न म सवैलाई आह्वान गर्दछु।’
यसरी गर्न सकिनेछ सहयोग
बालक युनिकलाई सहयोग गर्न गठित अभियान शुरुवाती चरणमा छ । केहि दिनमानै समितिको बैंक सञ्चालनमा ल्याउने तयारी छ । तर हाल सहयोग गर्न ईच्छुकहरुले बिरामीको आमा सुभद्रा थापाको नाममा सानिमा बैंकमा रहेको खाता नं.००२०११०९००००३८४ मा सहयोग प्रदान गर्न सकिने छ । साथै परिवारसँग थप जानकारी लिन ९८१७९४४८ ३६ मा बिरामीको आमा सुभद्रासँग पनि सम्पर्क गर्न सकिने छ ।
