बिराटनगर/ सवारी दुर्घटनामा परि दिंवगत भएका छोराको स्मृतिमा बिराटनगर महानगरपालिका वडा नम्वर ३ का एक प्रहरी परिवारले उत्कृष्ट प्रहरी पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका छन । अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार) र धर्मपत्नी बिमला थापा तथा छोरी बेनिजा थापाद्वारा ५ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गरिएको हो ।
स्वर्गिय बिप्लव थापा (गोदार) को स्मृतिमा उनका परिवारजनले “ बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार” कोषको स्थापना गरेका १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कार्यालयमा आज बुधबार दाता परिवारले कोषको रकम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.लाई हस्तान्तरण गरेका छन ।
सो पुरस्कार १ नं. प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी जवान देखी वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जा सम्मको १ (एक) जना प्रहरी कर्मचारीलाई प्रत्येक बर्ष नगद रु. २५०००।–(पच्चिस हजार) तथा प्रशंसा–पत्र द्वारा सम्मान प्रदान गरिने छ । प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाखको अक्षकोष स्थापना गरी २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औं प्रहरी दिवसबाट “ बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट प्रहरी पुरस्कार”को सुरुवात गरिने गरी सम्झौता भएको जनाइएको छ ।
