दमक/ झापाको क्षेत्र नं ५ अन्तर्गतका चार पालिका मध्ये दुई वटामा राप्रपाको प्रभाव निक्कै बलियो छ । यो क्षेत्रमा पर्ने प्रमुख नगर दमकमा यस अघिका निर्वाचन परिणामलाई हेर्ने हो भने राप्रपा दोश्रो शक्तिका रुपमा रहेको थियो । यहाँका धेरै जसो राजनीतिक गतिबिधिहरुमा राप्रपाको उपस्थितीले निक्कै अर्थ र महत्व राख्ने गरेको छ । भर्खरै सम्पन्न दमकस्थित हंसेदुम्से सामुदायिक वन उपभोक्ता समुहको निर्वाचनमा एउटा प्यानलको नेतृत्वनै राप्रपाले गरेको थियो ।
दमकमा पहिलो राजनीतिक शक्तिका रुपमा रहेको नेकपा एमालेको नेतृत्वमा कांग्रेसले समेत चुनावी गठबन्धन गरेको थियो । त्यो गठबन्धनलाई राप्रपाका विजय बराल नेतृत्वको गठबन्धनले चुनावी मुकाबिला गरेको थियो । वनको निर्वाचनमा एमालेले कांग्रेसलाई उपाध्यक्ष , सचिवसहित चित्तबुझदो पदमा साझेदारी गरेर अध्यक्षको पद त हत्याउन सक्यो तर त्यसको राजनीतिक वृत्तमा निक्कै आलोचना भयो । यसबाट पनि दमकमा राप्रपाको बलियो शक्ति रहेको प्रमाणित भएको दाबी एकाथरीले गरिरहेका छन भने आगामी स्थानीय निर्वाचन र त्यसपछि हुने दमक उद्योग वाणिज्य संघको निर्वाचनमा एमालेले आफना विरुद्ध हुन सक्ने मोर्चाबन्दीलाई भत्काउन सफल भएको निष्कर्ष पनि निकालिरहेका छन ।
राप्रपाको तर्फबाट स्थानीय निर्वाचनमा पटक पटक मेयरको चुनाव लडेका प्रदेश एकका अध्यक्ष समेत रहेका राम थापा र दमक ७ मा वडाध्यक्ष समेत भई क्षेत्र नं ५ मा पार्टी नेतृत्व सम्हालिरहेका भिम पौडेलको भुमिका के रहला ? कमल थापा नेतृत्वमा आजै मात्रै ब्युँताइएको भनिएको राप्रपा नेपालमा थापा र पौडेलले समर्थन जनाएर अघि बढने हुन वा राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाकै पक्षमा रहिरहने हुन ? भन्ने कार्यकर्ता पक्तिंबाट निक्कै चासो र महत्वसाथ हेरि राखिएको बताइएको छ । केही दिन अघि सार्वजनिक भएको एउटा समाचारमा प्रदेश अध्यक्ष थापाले आफनो समर्थन कल थापालाई रहने संकेत गरेको उल्लेख थियो । क्षेत्रीय अध्यक्ष पौडेल कमल थापा पक्षधरहरुको भेलामा सहभागी भइनसकेका तर थापाबाट प्रभावित नेता भएको मानिन्छ । पौडेलले अहिले सम्म थापा पक्षको भेलामा पनि सहभागिता नजनाउनुले उनले राप्रपाबाट दाँया बाँँया नगर्ने संकेतका रुपमा लिन सकिन्छ । राप्रपाको तर्फबाट उम्मेदवार भएर गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा चुनाव जितेका बाबुराजा श्रेष्ठको भुमिका पनि अब के रहला भन्ने खुलिसकेको छैन । पारिवारिक कारण देखाएर अध्यक्ष श्रेष्ठ हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा समेत मतदान गर्न गएनन । उनी पालिकाको अध्यक्षमा फेरी पनि उम्मेदवार बन्ने संकेत स्थानीय राजनीतिक घटनाक्रमहरुले गरिरहेको छ ।
राम थापाले दमकको स्थानीय निर्वाचनमा मेयरको दाबी कायम राख्नका लागि पनि कमल थापाको नेतृत्व रोज्न सक्ने बुझिएको छ । क्षेत्रीय अध्यक्ष पौडेलले भने केही दिन भित्रै क्षेत्रभरीका अगुवा कार्यकर्ताहरुको भेला राखेर कार्यकर्ताको भावना बुझने र त्यसै अनुसार निर्णय लिन सक्ने संकेत गरेका छन । यसबाट आफनो पकड क्षेत्र मानिएको दमक र गौरीगञ्जको स्थानीय निर्वाचनमा समेत राप्रपा फुटको प्रभाव पर्ने र त्यसको फाइदा एमाले, कांग्रेसले उठाउन सक्ने राजनीतिक वृत्तमा अडकलबाजी भइरहेको छ ।
