दमक/ जेठ ४ मा चुनाव गराउने निर्वाचन आयोग र प्रधानमन्त्री शेर बहादुर देउवाबीच समझदारी भएको खबर  बाहिरिएसंगै राष्ट्रिय राजनीतिमै चासो र महत्वसाथ हेरिने झापाका पालिकाहरुमा सम्भावित उम्मेदवारहरुको बिषयमा भित्र भित्रै चर्चा शुरु भएको छ । राजनीतिक दलहरु आफनो आफनो आन्तरिक अधिवेशनसंगै नयाँ नेतृत्व चयनको प्रकृया पूरा गरेपछि चुनाव लक्षित कार्यक्रमहरुको प्रचारमा लागेका देखिन्छ । निक्कै महत्व र चासोसाथ हेरिएको दमक नगरमा निकट भविष्यमा हुने स्थानीय निर्वाचनका सम्भावित उम्मेदवारहरुका बारेमा पनि पार्टी भित्र र बाहिर अनौपचारिक छलफल बहसहरु शुरु भएका छन ।
दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भुमिका आसन्न निर्वाचनमा के रहला ? भन्ने राजनीतिक वृत्तमा निक्कै चासो र महत्व रहँदै आएको छ । अहिले सम्म राष्ट्रिय राजनीतिमा नेकपा एमाले एकातिर छ भने अर्कोतिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको मोर्चाबन्दीनै छ । केन्द्रीय राजनीतिमा राप्रपाको भुमिका अलग किसिमको छ ।
२०७४ मा संसदमा एमालेसंग सहकार्य गरेर एउटा मात्रै सिट जितेको राप्रपाको सम्बन्ध पछिल्लो समय एमालेसंग पनि आफैंमा सन्तोषजनक छैन । राप्रपा एमालेतिरको गठबन्धनमा पनि छैन । संयोग एमालेको केन्द्रीय राजनीति र राप्रपाको केन्द्रीय राजनीतिमा झापाली नेतृत्व निर्णायक छ । पार्टीको महाधिवेशनबाट राप्रपाको केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङदेन भारी मतसहित विजयी भए भने एमालेको अध्यक्षमा पनि केपी शर्मा ओली दोहोरिए । राप्रपामा नेतृत्व परिवर्तनको चाहना देखियो भने एमालेमा केपी ओलीको निरन्तरताको चाहना देखियो । यि दुई दलबीच स्थानीयस्तरमा हुन सक्ने गठबन्धनका बिषयमा अनेकन अडकलबाजीहरु छन ।
२०७४ सम्म दमकको स्थानीय निर्वाचनमा एमाले पहिलो र राप्रपा दोश्रो शक्ति हुन । यि दुई शक्तिबीचको प्रतिस्पर्धा रहेको दमक नगरमा आगामी राजनीतिक समिकरण कस्तो बन्ला ? राप्रपाको भुमिका एमालेको पक्षमा देखिएला वा अरु दल समेतको साथ सहयोगमा राप्रपाले यहाँको चुनावमा नेतृत्व लिएला ? भन्ने जिज्ञासा एमाले र राप्रपा वृत्तमा छ भने यसैपटक अधिवेशन मार्फत पार्टीको नयाँ नेतृत्व स्थापित गरेको र युवा पुस्ताले कब्जा जमाएको कांग्रेसले पनि अबको निर्वाचनमा आफनो शक्ति बलियो रुपमा प्रस्तुत गर्न सक्ने सम्भावना पनि उत्तिकै छ । केन्द्रीय राजनीतिमा रहेको गठबन्धन चुनाव सम्म कायम रहे दमकमा पनि त्यसको अभ्यास होला या नहोला ? भन्ने जिज्ञासा कांग्रेस वृत्तमा छ ।
कतिपय वडामा वडाध्यक्षको उम्मेदवारनै अघोषित रुपमा तय गरेर मात्रै कांग्रेसको वडा तथा नगर अधिवेशन भएको पनि अनुमान बाहिर आएका छन । उम्मेदवारी दाबी गर्ने लर्को कांग्रेसमा मात्रै होइन २०७४ मा नगरपालिकामा दुई वटा बाहेकका सबै वडामा जित हासिल गरेको एमाले भित्र पनि उस्तै छ भने दमक नगर प्रमुख पदमा उपविजेताको स्थानमा पुगेको राप्रपा भित्र पनि नगर प्रमुखको दाबी छदैछ । कांग्रेसका तर्फबाट नगर सभापतिमा यहाँको उद्योग व्यवसायको क्षेत्रमा लामो समय नेतृत्व गरिसकेका प्रकाश प्रसाइँ, ढुण्डीराज भण्डारी, घनेन्द्र सुब्बा, गणेश अधिकारीलाई नगर प्रमुखका सम्भावित उम्मेदवारका रुपमा हेरिन थालेको छ । उनीहरुको दाबेदारी औपचारिक रुपमा बाहिर नआएपनि भित्र भित्रै आन्तरिक कसरत भने कायमै रहेको अनुमान कांग्रेस वृत्त र बाहिर समेत भइरहेको छ । कांग्रेसजस्तै नेकपा एमालेमा पनि आन्तरिक रुपमा दमकको भावी मेयरका सम्भावित नामहरु बारेमा कार्यकर्ता पत्तिंmमा चर्चा परिचर्चा भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष भुमिका हुने ठाउँ हो दमक ।
यहाँको नगरको प्रमुख पदमा उम्मेदवार छनौट हुँदै गर्दा ओलीले सोझै निर्णय लिने र सो निर्णयको कार्यान्वयमा कार्यकर्ताहरु एकढिक्का भएर जान सक्ने आकंलन गर्न त्यति गाह्रो छैन । एमाले भित्र हाल नगर प्रमुख रहेका रोमनाथ ओली पार्टीको केन्द्रीय सदस्य समेत यसैपटक भएका र दुई पटक सम्म प्रमुखको पद सम्हालिसकेका कारण अब नयाँ अनुहारलाई उम्मेदवारका रुपमा अघि सार्ने सम्भावना शत प्रतिशत छ । स्थानीय तहमा अनुभवका आधारमा उम्मेदवार छनौट गर्दा एमालेले हाल नगर उपप्रमुखको जिम्मेवारी सम्हालिरहेकी , प्राज्ञिक क्षेत्रमा समेत आफूलाई स्थापित गराइसकेकी गीता अधिकारीलाई रोज्ने बलियो सम्भावना आकंलन गर्न सकिन्छ भने अघिल्लो पटकनै नगर प्रमुखमा बलियो दाबी पेश गरेका नेता अम्बिका खनाल, पार्टी अध्यक्ष ओलीको जनसम्पर्क अधिकारीका रुपमा रहेका नेता होम बहादुर थापा, अध्यक्ष ओलीको प्रमुख स्वकिय सचिवका रुपमा समेत रहेका पार्टीका प्रदेश कमिटी सदस्य इन्द्र भण्डारीलाई पनि सम्भावित नगर प्रमुखको उम्मेदवारका रुपमा हेरिएको छ । यहाँको निर्वाचनमा यस अघि दोश्रो शक्तिका रुपमा स्थापित बनेको राप्रपाले अन्य दलसंग चुनावी समिकरण गर्ला कि नगर्ला ? भन्ने प्रश्न नगरको राजनीतिक वृत्तमा रामैसंग चर्चा भइरहेको छ । राप्रपाको तर्फबाट यस पटक पनि नगर प्रमुखको उम्मेदवारका रुपमा राम थापालाई र अघि सारेर समिकरणका लागि संवादको वातावरण बनाउने अनुमान गर्न सकिन्छ । अर्कातिर एमाले–राप्रपा गठबन्धन भए प्रदेश सभा निर्वाचन क्षेत्रमा राप्रपाका राम थापालाई अघि सारेर एमालेले नगर प्रमुख र राप्रपाका तर्फबाट भिम पौडेल उपप्रमुखको उम्मेदवार बन्न सक्ने आंकलन पनि भइरहेको छ । कांग्रेस भित्र कुनै पनि दलसंग गठबन्धन गर्न नहुने एउटा पक्तिंबाट आवाज उठिरहेको भएपनि दमकको राजनीति भने फरक ढंगबाट अघि बढन सक्ने कतिपयको तर्क छ ।

 

Facebook Comments Box