दमक/ प्रधानमन्त्री शेरबहादुर देउवाले यही जेठ ४ मा एकैपटक देशभर स्थानीय तहको निर्वाचन गराउन निर्वाचन आयोग समक्ष प्रस्ताव गरेका छन । सरकार र आयोगबीच सो प्रस्तावमा समझदारी समेत भएको आयोगले जनाएको छ । आउँदो जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको आयोगद्धारा जारी प्रेस वक्तव्यमा जनाइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आज मङ्गलवार भएको छलफलमा आउँदो जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने समझदारी बनेको हो । छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै चुनावको तयारी अघि बढाउन आयोगलाई आग्रह गरे । आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो । तर सत्तारुढ गठबन्धनभित्रको मतभेदका कारण सरकारले स्थानीय तहको चुनावको मिति तोक्न सकेको थिएन । गएको शनिवार बसेको गठबन्धनको बैठकले कानुनमा आवश्यक संशोधन गरेर भए पनि जेठमा चुनाव गर्ने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले त्यसबारे छलफल अघि बढाएका थिए । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आउँदो जेठ ५ गते सकिँदैछ । त्यसअघि नै स्थानीय तहको चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्थाको ख्याल गर्दै सरकारले निर्वाचनको तयारीका लागि आयोगसंग छलफल गरेको हो ।