दमक/ मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ४८ बर्षीय कमल श्रेष्ठले जग्गा सम्बन्धिको मुद्धामा अदालतले आफनी ९० बर्षिया आमालाई पाँच कठ्ठा जग्गा दिनुपर्ने फैसाल सुनाएपछि रिसको आवेगमा आमाको हत्या गरेको खुलेको छ ।
हत्याको आरोपमा प्रहरीले कमललाई पक्राउ समेत गरिसकेको छ । श्रेष्ठले आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेर जलाएको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा सो पत्ता लागेको हो । ९० बर्षिया आमा जगमाया यही माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी थिइन । उनको हत्या पछी छोरा कमलले जलाएको हुन सक्ने अनुमान बाहिर आएको थियो । सो लगत्तै ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सुक्ष्म अनुसन्धान गरि सोमबार दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठले यसअघि बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएका थिए ।
सो बिषयमा आमा लगायत अन्य भाईहरुले थाहा पाएपछि अदालतमा मुद्धा परेको थियो । सो मुद्धामा अदालतले सो जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला सुनाएको थियो । सोही फैसला सुनाएपछि रिसको आवेगमा कमलले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
