दमकमा इलाका प्रशासन कार्यालयको आफनै भवनबाट सेवा सूचारु

Author Nishkarsha News
२०७८ माघ १७, सोमबार २०:१५

दमक/ झापाको दमकस्थित इलाका प्रशासन कार्यालय दमकले नवनिर्मित प्रशासनिक भवनबाट आज ( सोमबार) देखि सेवा सूचारु गरेको छ ।
यसअघि शरणार्थी समन्वय एकाईको दमकस्थित कार्यालय रहेको दमक ६ स्थित बहालमा रहेको घरमा रहेको कार्यालय दमक ८ स्थित आफनै नयाँ प्रशासनिक भवनमा स्थानान्तरण गरिएको हो ।

कार्यालयका शाखा अधिकृत सूर्यमान बाँनियाले नागरिकता लिने प्रकृयामा रहेकी एक बृद्धालाई सेवा प्रदान गर्दै नयाँ भवनमा सेवा शुरुवात गरेका हुन । सो भवनबाट आज पहिलो सेवा लिने सेवाग्राही २००६ साल जेठ १७ गते जन्मिएकी शिवसताक्षी २ की भिममाया मगर रहेकी छिन । उनले ७२ बर्षको उमेरमा आज सो कार्यालयबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएकी हुन ।
कार्यालय प्रमुख दिपक कोइराला आजनै नगरपालिका कार्यालयमा एउटा बैठकमा सहभागी हुन गएका कारण कार्यालय प्रमुखको निर्णय अनुसार आवश्यक सम्पूर्ण प्रकृया पूरा गरेर आएकी मगरका नाममा जारी गरिएको पहिलो नागरिकता आफूले हस्तान्तरण गरेको शाखा अधिकृत बाँनियाले जानकारी दिए । दमकमा इलाका प्रशासन कार्यालय २०५० चैत्र ४ गतेबाट स्थापना भएको हो । २८ बर्ष लामो समय सम्म घर भाडामा लिएर कार्यालय सञ्चालन हुँदै आएकोमा हालै दमक ८ मा आफनै भवन निर्माण भएकाले सो ठाउँबाट सेवा दिन शुरु गरिएको हो । इलाका प्रशासन कार्यालय दमकले दमक, कमल र शिवसताक्षी नगरपालिका क्षेत्रका सेवाग्राहीलाई नागरिकता, राहदानी, आदिवासी जनजाती प्रमाणित, नाबालक परिचय पत्र जारी गर्ने, संघ संस्था नविकरण, हातहतियार नविकरण लगायतका सेवासंगै प्रशासन कार्यालयमा पर्न आएका ठाडो उजुरीहरुमाथि सुनुवाई गर्ने लगायतका सेवा प्रदान गर्दै आएको छ । झापाका दमक र गौरीगञ्जमा इलाका प्रशासन कार्यालय सञ्चालनमा छन ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्