छविराज ढकाल
पथरीशनिश्चरे/पूर्वोत्तर मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका–३ ,४ र १० वडाहरुमा पूनः भूमिसम्विन्धी समस्या उत्पन्न भएको छ ।
यहाँका भूमिहीन तथा सुकुम्बासीहरूले वर्षौंदेखिको यो अव्यवस्थित बसोबास समस्यालाई राज्यद्वारा अविलम्व समाधान गर्नू पर्ने माग राखेका हुन् ।
नेकपा – एमाले १० नं वडा कमिटीद्वारा आयोजित पत्रकार भेटघाटमा अदालतीय फैसलाका आधारमा यस क्षेत्रमा वर्षौंदेखिको बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासीहरूलाई अर्को भरपर्दो व्यवस्था नगरिएसम्म हटाउन नहुने आग्रह गरेका छन् ।
झण्डै ४० वर्षदेखि समस्याको रूपमा रहेको यहाँको भूमि सम्वन्धि समस्या पूनः बल्झिएको छ ।
केहीदिन अघि जिल्ला प्रशासन कार्यालय मोरङबाट पथरीशनिश्चरे नगरपालिकाको कार्यालयमा केही लालपुर्जावालाहरूको जमीनमा बस्दै आएका भूमिहीन तथा सुकुम्वासीलाई हटाएर खाली गर्नका लागि परिपत्र गरेको र सोही परिपत्र नै नगरका ३, ४ र १० नंम्बरका वडा कार्यालयहरुमा पूनः पत्रचार गरिएपछि यो समस्या बल्झिएको उक्त कार्यक्रममा उपस्थित स्थानीयहरूले बताएका थिए । ।
यस अघि पनि पटक पटक यो नगर क्षेत्रमा लालपुर्जा लिएर उपभोग गर्न नपाएका र वर्षौंदेखि खालीखाल्सा जमीनमा भूमिहीन तथा सुकुम्बासीको रूपमा अव्यवस्थित बसोबास गर्नेहरूबिचमा यस्तै द्वन्द्व हुने गरेको स्थानीय अगुवा गर्जमान राईले बताए ।
आफ्नो हकदावीसहितको लालपुर्जा लिएर जमीन उपभोग गर्न नपाएको भन्दै २९ जना ले अदालतबाट आफ्नो पक्षमा फैसला गराई त्यहीं वर्षौंदेखि निरन्तर बसोबास गरिरहेका भूमिहीन तथा सुकुम्वासीलाई हटाउन जिल्ला तथा स्थानीय निकायहरूको सहयोगमा प्रयास गरिएको कार्यक्रममा सहभागीहरुले बताएका हुन् ।
केही दिन अघि मात्रै नगरका ३, ४ र १० नं वडाका कार्यालयहरूमार्फत भूमिहीन तथा सुकुम्वासीलाई हट्न भनिएको आशयपत्र जारी भएको थियो। वडा नं १० मा मात्रै १९ जना लालपुर्जा भएकाहरुले जग्गा खाली गराइदिन वडा कार्यालयसम्म परिपत्र गराएका हुन् ।
यस्तो पत्रचार भएपछि ति वडाका भूमिहीन सुकुम्बासीहरू आन्दोलित भएका छन् ।
हाल पथरीशनिश्चरे नगर क्षेत्रमा १५ सय बढी भूमिहीन तथा सुकुम्वासी रहेका छन् । उनीहरूले जोतभोग गर्दैआएको भूमिको स्वामित्व ग्रहण गर्न सकेका छैनन् भने लालपुर्जा लिएर जमीन उपभोग गर्न नपाएकाहरूले अदालतमा मुद्दा दायर गरी फैसला गराई जग्गा खाली गराइदिन सरकारी निकायलाई विनय गरिरहेका छन् ।
मैना फूयाल , मन कुमारी विक र अनुज घिमिरे समेत उपस्थिति रहेको सो कार्यक्रममा एमालेका १० नं वडा कमिटी अध्यक्ष पर्वत थापाले एक विज्ञप्ति जारी गर्दै राज्यले भूमि सम्वन्धि समस्या उत्पन्न गरेको बताए । स्थानीय गर्जमान राई , पदम पाख्रिन , एमाले मोरङ कमिटी सदस्य भगतचन्द्र थपलिया , लगायतले वर्तमान सरकारले यहाँको भूमि सम्वन्धि समस्या सुल्झाउन तत्काल कदम चाल्न आह्वान गरेका हुन्। कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य युवराज बास्कोटाले राज्यले यो समस्या सुल्झाउन तत्काल पहल गर्नुपर्ने औल्याए । उनले अघिल्लो सरकारका पालामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास समस्या समाधान गर्न बनेको आयोगले चालेका कामहरुलाई आत्मसाथ गर्दै यो समस्या हल गर्न आग्रह गरे ।

Facebook Comments Box