दमक/ दमक ५ मा दश बर्ष अघि स्थापना गरेर वित्तिय क्षेत्रमा अलग पहिचान बनाएको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले पाँचौं सदस्य सेवा केन्द्रका रुपमा उर्लाबारी सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । शुक्रवारदेखि उर्लावारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । सो संस्थाले यस अघि केर्खा, सुरुङगा, विर्तामोड र बुद्धशान्तीमा सदस्य सेवा केन्द्र सञ्चालन ल्याइसकेको छ । पछिल्लो समय उर्लावारी क्षेत्रका आफना शेयर सदस्यहरुको माग र उनीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै सो केन्द्र सञ्चालनमा ल्याइएको संस्थाका सचिव ज्ञाननाथ पौडेल ( ज्ञानु) ले जानकारी दिए । उर्लावारी ७ स्थित एक घरमा स्थापना गरिएको सदस्य सेवा केन्द्र कार्यालयको शुक्रवार उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरवहादुर भण्डारीले उद्घाटन गरे । सेवा केन्द्र कार्यालयको उद्घाटन गर्दे अध्यक्ष भण्डारीले झापासंगै मोरङको उर्लावारीका व्यवसायीहरुको सुविधाका लागि सहकारीले सेवा केन्द्र सञ्चालनमा ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे ।
उनले नाफा कमाउने मात्र नभई व्यवसायीको व्यवसायिक वृद्धिविकास ,क्षमता अभिबृद्धि,सीपको विकासमा समेत उतिकै प्राथमिकता दिनुपर्ने औल्याए ।
सेवा केन्द्र उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष दिपक खरेलले सहकारीले आफना शेयर सदस्यलाई लक्षित गरि सेवा केन्द्र विस्तार गरिआएको जानकारी दिए । यसैगरि संस्थाले शिवसताक्षी र धुलावारीमा समेत सदस्य सेवा केन्द्र सञ्चालन गर्न आवश्यक पहल भईरहेको उनले बताए ।
उर्लावारी सदस्य सेवा केन्द्र उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बिष्णु सुब्बा, सञ्चार क्लवका अध्यक्ष नवराज भटटराई,सहकारीका व्यवस्थापक नवराज बाँस्तोला,सेवा केन्द्र इन्चार्ज धर्मानन्द भटटराई, सञ्चालक समिति, उपसमिति, कर्मचारीहरु, स्थानीय व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा सेवा केन्द्र उद्घाटनमा प्रमुख अतिथि भण्डारीले शेयर सदस्यको खाता समेत खोली विधिवत कारोवारको शुरुवात गरिएको थियो ।
२४८० महिला र ३२०५ पुरुष गरि ५ हजार ६ सय ८५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूंजी रु ७ करोड १६ लाख ४५ हजार पुगेको संस्थाका प्रमुख व्यवस्थापक नवराज बाँस्तोलाले जानकारी दिए । त्यस्तै वासलात ७६ करोड ८८ लाख ८२ हजार ५ सय १३, निक्षेप ६२ करोड ६० लाख ६८ हजार ७ सय ७५ र कर्जा लगानी रु ६८ करोड ९३ लाख ५३ हजार ४ सय ३८ रुपैया रहेको संस्थाद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।

Facebook Comments Box